काठमाडौं।
नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ जना सदस्य चयनका लागि काठमाडौं उपत्यका बाहिर सम्पन्न निर्वाचनमा कुल ६ हजार ८४६ मत खसेको छ। पुस ४, ५ र ६ गते तीन दिनसम्म देशका विभिन्न भागमा सञ्चालन भएको मतदानमा उल्लेख्य सहभागिता देखिएको काउन्सिलले जनाएको छ ।
काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवका अनुसार उपत्यकाबाहिर तोकिएका १८ मतदान केन्द्रमध्ये सबैभन्दा धेरै मत भरतपुर अस्पताल, चितवनमा खसेको छ । उक्त केन्द्रमा मात्रै ९६६ मत खसेको उनले जानकारी दिए । “उपत्यकाबाहिरको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ,” रजिस्ट्रार देवले भने, “मतदान प्रक्रियामा चिकित्सकहरूको सक्रिय सहभागिता देखिएको छ ।”
निर्वाचन समितिका अनुसार काउन्सिलको निर्वाचनका लागि देशभर २१ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये काठमाडौं उपत्यकाबाहिरका केन्द्रहरूमा पुस ४ र ५ गते मतदान तोकिएकोमा दुई स्थानमा रोकिएको मतदान पुष ६ गते सम्पन्न भइसकेको छ भने काठमाडौं उपत्यकामा हुने मतदानका लागि पुस ११ र १२ गते मिति तय गरिएको छ ।
उपत्यकाबाहिरका मतदान केन्द्रमध्ये कोशी अस्पताल विराटनगरमा ९२५ मत खसेको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८०० मत खसेको छ । त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५८१, प्रादेशिक अस्पताल जनकपुरमा ६१७, नारायणी अस्पताल वीरगन्जमा ४९१ तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ४३२ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
अन्य केन्द्रहरूमा पनि उल्लेख्य सहभागिता देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा ३१८, सेती प्रादेशिक अस्पताल धनगढीमा २९६, भीम अस्पताल भैरहवामा २७१, मेची प्रादेशिक अस्पताल भद्रपुरमा २७५ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १८८ मत खसेको छ । यसैगरी हेटौंडा अस्पतालमा १३९, पाल्पा अस्पताल तानसेनमा ११५, लहान अस्पतालमा १३०, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा ८७, कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा १२३ तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ९२ मत खसेको छ ।
नेपाल मेडिकल काउन्सिलको नेतृत्व चयनसँगै चिकित्सा शिक्षा, चिकित्सक दर्ता, आचारसंहिता र नियमनको भूमिकामा नयाँ दिशा तय हुने अपेक्षा गरिएको छ । काठमाडौं उपत्यकाको मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।











प्रतिक्रिया