विश्व ध्यान दिवस : ५० हजारले गरे सामूहिक अभ्यास


काठमाडौं ।

संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व ध्यान दिवसको अवसरमा आर्ट अफ लिभिङ नेपालले देशव्यापी रूपमा साताव्यापी कार्यक्रम गरी दोस्रो विश्व ध्यान दिवस सफलतापूर्वक सम्पन्न गरेको छ । आइतबार (डिसेम्बर २१) काठमाडौंको शंखमूलस्थित केन्द्रमा आयोजित मुख्य कार्यक्रमसहित नेपालभर ५० हजारभन्दा बढी नागरिकले सामूहिक ध्यानमा सहभागी भएर आन्तरिक शान्तिको सन्देश फैलाएका छन् ।

मंसिर ५ गतेदेखि सुरु भएको एक साता लामो अभियानमा विद्यालय, कलेज, सुरक्षा निकायका इकाइहरू र सरकारी तथा निजी कार्यालयहरूमा विशेष सत्रहरू सञ्चालन गरिएका थिए । आर्ट अफ लिभिङ नेपालका अनुसार यस वर्ष सहभागीको संख्या र उत्साहले नेपालमा मानसिक स्वास्थ्य र आध्यात्मिक जागरणप्रति बढ्दो चासोलाई प्रष्ट पारेको छ ।

‘तनावमुक्त समाजका लागि योग र ध्यान’ काठमाडौंमा आयोजित मुख्य समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै बदलिँदो जीवनशैलीका कारण उत्पन्न मानसिक समस्या समाधान गर्न ध्यान र योगलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘बढ्दो तनाव, चिन्ता र डिप्रेसनका कारण आज विश्व नै आक्रान्त छ । यस्तो अवस्थामा ध्यान केवल आध्यात्मिक अभ्यास मात्र नभई विज्ञानसम्मत औषधि पनि हो’, मन्त्री शर्माले भन्नुभयो– ‘मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगका रूपमा बुझ्नुपर्छ । सरकारले पनि समुदायस्तरमै मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम अघि बढाउन नागरिक समाजसँग सहकार्य गर्ने नीति लिएको छ ।’ उहाँले आर्ट अफ लिभिङले समाजमा आत्मअनुशासन र सकारात्मक सोच भर्न पु¥याएको योगदानको उच्च प्रशंसा समेत गर्नुभयो ।

आर्ट अफ लिभिङका अनुसार यस वर्ष देशभरका १ हजारभन्दा बढी सहभागीले ‘सातदिने निर्देशित ध्यान यात्रा’ सफलतापूर्वक पूरा गरेका छन् । प्रशिक्षित शिक्षकहरू र स्वयंसेवकहरूको सक्रियतामा सुदूरपश्चिमदेखि पूर्वसम्मका विभिन्न समुदायमा सामूहिक ध्यान सत्रहरू चलाइएको थियो । आर्ट अफ लिभिङ नेपालका अध्यक्ष शिद्धेश्वर कुमार सिंह र महासचिव प्रभुराज वैद्यले पूर्वीय दर्शनको महत्वबारे चर्चा गर्दै नेपाललाई विश्वकै ध्यानको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याउनुभयो ।