-कर्मचारी सरुवामा नातावाद कृपावाद हाबी
-जेन–जीहरूको रुचि किन कर्मचारी सरुवामा ?
काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हिजोआज जेन–जी अभियन्ताहरूको काम कर्मचारी सरुवाका लागि दबाब दिनमा नै बित्ने गरेको छ । मुलुक संकटग्रस्ता अवस्थामा गुज्रिरहेको बेला मुुलुकलाई सही गन्तव्यमा पु¥याउन के कसरी अघि बढ्ने भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा केही जेन–जी अभियन्ताहरूको काम कर्मचारी सरुवाका लागि दबाब दिनेमा नै बित्ने गरेको छ । जेन–जीको सरुवा दबाबले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्य केही मन्त्रालयका सचिव, सहसचिव हैरान हुन थालेका छन् ।
जेन–जी अभियन्ताहरूले विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतदेखि सरकारको नीति निर्माण तहमा भूमिका खेल्ने सहसचिव सरुवाका लागिसमेत मन्त्री र सचिवलाई निरन्तर दबाब दिँदै कर्मचारी सरुवा गराउन थालेका छन् । स्रोतका अनुसार केही कर्मचारीहरूले नै जेन–जीलाई प्रयोग गरी आकर्षक ठाउँमा सरुवा हुन थालेका छन् । जेन–जीका केही प्रदेश संयोजकहरूले विशेष गरी तराईका केही गाउँपालिका र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नुपर्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सूची नै बुझाएको मन्त्रालय स्रोतले जनाएको छ ।
जेन–जी अभियन्ताहरूले केही दिनदेखि प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि मन्त्रालयमा निरन्तर ताकेता गर्दै आएका छन् । केही जेन–जी अभियन्ताहरूको दिन प्रायः सामान्य प्रशासन मन्त्रालयमा बित्ने गरेको जानकारी दिँदै मन्त्रालयका एक अधिकृतले नेपाल समाचारपत्रसँग भने – ‘उनीहरूले केही गाउँपालिका र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवामा अत्यधिक रुचि राख्दै निरन्तर दबाब दिँदै आइरहेका छन् ।’
यसरी जेन–जी अभियन्ताहरू कर्मचारी सरुवामा दौडनुलाई मन्त्रालयका कर्मचारीहरूले आश्चर्यको रूपमा लिएका छन् । जेन–जी अभियन्ताहरू सामान्यलगायत गृह, भौतिक, ऊर्जा मन्त्रालयका सचिव तथा सहसचिवलाई लगातार भेटेर कर्मचारी सरुवामा दबाब दिन थालेपछि सचिव सहसचिवहरूले दिक्दारी मान्न थालेको बताइएको छ । कर्मचारी सरुवामा अहिले पनि नातावाद, कृपावाद नै हाबी हुन थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकृतहरूको भनाइ छ ।
सरकारले गत शुक्रवार गरेको ६० जना सहसचिवको सरुवामा पनि केहीमा जेन–जीको दबाब परेको स्रोतले जानकारी दिएको छ । वन तथा वातावरण मन्त्रालयका सहसचिव मिमांश अधिकारीलाई केही जेन–जीकै दबाबमा मन्त्रालयबाट हटाएर राष्ट्रिय योजना आयोग पु¥याइएको छ । अधिकारी वन मन्त्रालयमा ४ महिना अघिमात्रै आउनुभएको थियो । तर, जेन–जीले उहाँलाई चार महिनामा नै हटाएर अर्का सहसचिव भुपेन्द्र थापाालाई ल्याएका छन् ।
वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले जेन–जी अभियन्ताको दबाबमा परेर मन्त्रालयका सहसचिव अधिकारीलाई सरुवा गर्न सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्नुभएको थियो । मन्त्री चौलागाइद्वारा हटाइएका सहसचिव अधिकारी भने असल सहसचिवको रूपमा चिनिन्छन् । यसै गरी जेन–जीहरूकै दबाबमा वन मन्त्रालयका प्रशासन शाखाका उपसचिव शोभाकर रेग्मीले पनि सरुवा भएको थियो । उहाँलाई हटाएर प्रेम देवकोटालाई ल्याइएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार केही जेन–जी अभियन्ताहरूले सरुवा भइसकेका प्रमुख जिल्ला अधिकारीको सरुवा रोक्न गृह मन्त्रालयलाई दबाब दिइरहेका छन् भने केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी चाहिने भन्दै गृह मन्त्रालयलाई अनावश्यक दबाब दिइरहेका छन् ।
शुक्रवार सरुवा भएका ६० जनामध्ये केही सहसचिव सरुवा रोकाउन र अन्यत्र सरुवा गराउन दौडधुपमा लाग्न थालेका छन् । लगानी बोर्डबाट कोशी प्रदेशमा सरुवा भएका सहसचिव आस्मान तामाङ सो सरुवा उल्टाउन दौडधुपमा लागिरहनुभएको बताइएको छ । तामाङ सो सरुवा बदर गरी गृह मन्त्रालयमा जाने गरी दौडधुपमा लाग्नुभएको हो । यसका लागि उहाँले ऊर्जा मन्त्री कुलमान घिसिङको प्रयोग गर्नुभएको स्रोतले जानकारी दिएको छ । मन्त्री कुलमानले गृहमन्त्रीलाई तामाङलाई गृहमा लैजानुपर्ने गरी दबाब दिनुभएको बुझिएको छ । स्रोतका अनुसार कुलमानले निर्वाचनलाई लक्षित गरी केही जिल्लामा आफू निकट सहसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर लैजान खोजेको बताइएको छ । सोहीअनुसार कुलमानले आवश्यक गृहकार्य गरिरहेको कर्मचारीहरूले बताएका छन् ।











प्रतिक्रिया