पत्रकार महिलाका लागि संसदीय खोजमूलक रिपोर्टिङसम्बन्धी तीनदिने तालिम सुरु


काठमाडौं।

पत्रकार महिलाहरूका लागि संसदीय मामिलामा केन्द्रित खोजमूलक रिपोर्टिङसम्बन्धी तीनदिने तालिम आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। युएनडिपीको सहकार्यमा क्रियाशील महिला पत्रकारहरूको संस्था डब्लु डब्लु जे (WWJ) ले संसदीय पत्रकारिता सुदृढ गर्ने उद्देश्यसहित तालिम आयोजना गरेको हो।

तालिम उद्घाटन कार्यक्रममा डब्लु डब्लु जेकी केन्द्रीय अध्यक्ष रामकला खड्काले सन् २००६ देखि संस्थाले पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि गर्दै नेतृत्व तहसम्म पुर्‍याउने लक्ष्यसहित विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । उनले संसदीय व्यवस्था, प्रक्रिया र प्रणालीका साथै संसदभित्र हुने अनियमितता, बजेट दुरुपयोग, विकास आयोजनाको प्रभाव, सांसदहरूलाई प्रलोभनमा पारेर कानुन निर्माणमा दबाब दिने जस्ता विषयमा खोजमूलक समाचार संकलन गर्न यो तालिम उपयोगी हुने उल्लेख गरिन ।

तालिममा संसदीय रिपोर्टिङमा लामो अनुभव हासिल गरेका शिव गाउँले, राजेन्द्र फुयाँल, डा. जगत नेपाल, नम्रता शर्मा र नरेन्द्र साउद स्रोत व्यक्तिका रूपमा सहभागी हुनेछन्। पुस ६ देखि ८ गतेसम्म सञ्चालन हुने तालिममा खोज पत्रकारिताका नैतिक मापदण्ड, संसद सचिवालयका प्रमुख जिम्मेवारी, संसदको संरचना र प्रक्रिया तथा संसदीय पत्रकारिताका अभ्यासबारे प्रशिक्षण दिइनेछ।

त्यसैगरी पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा लैङ्गिक मुद्दा उठानमा सञ्चारमाध्यमको भूमिका, दलगत ह्विप र सांसदको स्वतन्त्रतासम्बन्धी विषयमा अनुभवसहित प्रस्तुति दिने कार्यक्रम रहेको छ।

तालिममा संसद रिपोर्टिङमा संलग्न नयाँ तथा अनुभवी गरी २५ जना पत्रकार महिलाको सहभागिता रहेको डब्लु डब्लु जेकी सचिव रुक्मिणी पोखरेलले जानकारी दिइन् ।