काठमाडौँ।
संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व ध्यान दिवसको अवसरमा आर्ट अफ लिभिङ नेपालले देशव्यापी रूपमा साताव्यापी कार्यक्रम गरी दोस्रो विश्व ध्यान दिवस सफलतापूर्वक सम्पन्न गरेको छ । आइतबार (डिसेम्बर २१) काठमाडौँको शंखमूलस्थित केन्द्रमा आयोजित मुख्य कार्यक्रमसहित नेपालभर ५० हजारभन्दा बढी नागरिकले सामूहिक ध्यानमा सहभागी भएर आन्तरिक शान्तिको सन्देश फैलाएका छन् ।
मंसिर ५ गतेदेखि सुरु भएको एक साता लामो अभियानमा विद्यालय, कलेज, सुरक्षा निकायका इकाइहरू र सरकारी तथा निजी कार्यालयहरूमा विशेष सत्रहरू सञ्चालन गरिएका थिए । आर्ट अफ लिभिङ नेपालका अनुसार यस वर्ष सहभागीको संख्या र उत्साहले नेपालमा मानसिक स्वास्थ्य र आध्यात्मिक जागरणप्रति बढ्दो चासोलाई प्रष्ट पारेको छ ।
दिवसका अवसरमा स्वास्थ्यमन्त्रीको जोडः ’तनावमुक्त समाजका लागि योग र ध्यान’ काठमाडौँमा आयोजित मुख्य समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै बदलिँदो जीवनशैलीका कारण उत्पन्न मानसिक समस्या समाधान गर्न ध्यान र योगलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्नेमा जोड दिइन् ।
“बढ्दो तनाव, चिन्ता र डिप्रेसनका कारण आज विश्व नै आक्रान्त छ । यस्तो अवस्थामा ध्यान केवल आध्यात्मिक अभ्यास मात्र नभई विज्ञानसम्मत औषधी पनि हो,“ मन्त्री शर्माले भनिन्, “मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगका रूपमा बुझ्नुपर्छ । सरकारले पनि समुदायस्तरमै मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम अघि बढाउन नागरिक समाजसँग सहकार्य गर्ने नीति लिएको छ ।“ उनले आर्ट अफ लिभिङले समाजमा आत्मअनुशासन र सकारात्मक सोच भर्न पु¥याएको योगदानको उच्च प्रशंसा समेत गरिन् ।
आर्ट अफ लिभिङका अनुसार यस वर्ष देशभरका १ हजारभन्दा बढी सहभागीले ’सातदिने निर्देशित ध्यान यात्रा’ (७–डे गाइडेड मेडिटेशन जर्नी) सफलतापूर्वक पूरा गरेका छन् । प्रशिक्षित शिक्षकहरू र स्वयंसेवकहरूको सक्रियतामा सुदूरपश्चिमदेखि पूर्वसम्मका विभिन्न समुदायमा सामूहिक ध्यान सत्रहरू चलाइएको थियो । आर्ट अफ लिभिङ नेपालका अध्यक्ष शिद्धेश्वर कुमार सिंह र महासचिव प्रभुराज वैद्यले पूर्वीय दर्शनको महत्वबारे चर्चा गर्दै नेपाललाई विश्वकै ध्यानको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याए । “गुरुदेव श्री श्री रवि शंकरको तनावमुक्त र हिंसामुक्त समाजको परिकल्पना साकार पार्न हामीले यो अभियानलाई गाउँ–गाउँसम्म पु¥याएका हौँ,“ अध्यक्ष सिंहले बताए ।
संयुक्त राष्ट्रसंघले सन् २०२४ डिसेम्बर ६ मा एक ऐतिहासिक प्रस्ताव पारित गर्दै प्रत्येक वर्षको डिसेम्बर २१ (हिउँदे संक्रान्ति) लाई ’विश्व ध्यान दिवस’ का रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०२५ मा यो दिवस दोस्रो पटक विश्वभर मनाइएको हो । नेपाल यो प्रस्तावको मुख्य सह–प्रायोजक मध्येको एक राष्ट्र हो, जसले गर्दा यो दिवस नेपालका लागि अझ विशेष रहेको छ ।
कार्यक्रममा आर्ट अफ लिभिङका वरिष्ठ शिक्षकहरू, एपेक्स बडीका सदस्यहरू र विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रमको समापनमा सहभागीहरूले “सबैको कल्याण र विश्व शान्ति“ को संकल्पसहित ध्यान गरेका थिए । आर्ट अफ लिभिङ नेपालले यस महाअभियानलाई सफल बनाउन सहयोग गर्ने सरकारी निकाय, शैक्षिक संस्था, सुरक्षा निकाय र सम्पूर्ण स्वयंसेवकहरूप्रति आभार व्यक्त गरेको छ । यो व्यापक सहभागिताले स्वस्थ, शान्त र समृद्ध नेपाल निर्माणको दिशामा महत्त्वपूर्ण इँटा थपेको आयोजकको विश्वास छ ।











प्रतिक्रिया