मुख्यमन्त्रीले बनाइदिए विपन्न चेपाङको घर


हेटौंडा ।

 बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले प्राप्त गर्ने सेवासुबिधाको रकमबाट खर्च गर्ने गरी मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ दम्पतीको घर निर्माण गरिदिएका छन् । 

मुख्यमन्त्री बानियाँले कैलाश गाउँपालिका–४, धुसरका लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई घर हस्तान्तरण गरेका हुन  । मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतीलाई आयआर्जनका लागि बाख्रापालन गर्न अनुरोध गर्दै नगद २० हजार रुपियाँ सहयोग हस्तान्तरण गरे ।

कैलाश गाउँपालिकाले अतिविपन्नका रुपमा पहिचान गरी उनीहरुको घर निर्माण गर्न मुख्यमन्त्री बानियाँलाई सिफारिस गरेको थियो । पालिकाको सिफारिसपछि मुख्यमन्त्री बानियाँले आफूले प्राप्त गर्ने सेवासुबिधाको रकमबाट खर्च गर्ने गरी केही महिनाअघि घर निर्माण सुरु गराएका थिए । करिब ८ लाख लगानीमा ३ वटा कोठाको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको नेपाली कांग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिए ।

५० वर्षीय लालकुमार लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका थिए । सानै उमेरमा हात जलेर सानुमाया आंशिक अशक्त बनेकि छन् । आर्थिक अभावका कारण उनीहरु सुरक्षित घर निर्माण गर्न असमर्थ थिए । घर निर्माणसँगै ओढ्ने, ओच्छ्याउनेलगायत लत्ताकपडाको व्यवस्थापन पालिकाले गरिदिने पालिका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घोष गरे ।

घर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले विपन्न नागरिकलाई आफूले सेवासुबिधाको रकम खर्च गरेर घर निर्माण गर्नुका साथै प्रदेश सरकारमार्फत पनि आवास कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । बागमती प्रदेशभरका विपन्न, निमुखा, दलित, सीमान्तकृत, एकल महिलालगायतलाई समेटेर एक हजार वटा घर निर्माण गरी हस्तान्तरण गर्ने योजनासाथ प्रदेश सरकार कार्यविधि बनाएर अघि बढ्न लागेको उनले सुनाए । घर निर्माणसँगै उनीहरुलाई आयआर्जनका लागि बिनाब्याजमा प्रतिपरिवार २ लाख ऋण दिइने मुख्यमन्त्रीको भनाइ थियो ।

मुख्यमन्त्री बानियाँले आफ्नो सेवाबसुबिधाको रकमबाट यसअघि मकवानपुरको मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारको ७ लाख रुपियाँ लगानीमा घर निर्माण गरी हस्तान्तरण गरिसक्नुभएको छ भने राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर पनि निर्माण क्रममा छ ।