रवीन्द्रलाई नभै पशुपति शमशेरलाई  सिफारिस गरिएको राप्रपाको प्रस्टीकरण

12.13k
Shares

काठमाडौँ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नम्बर– १ बाट रवीन्द्र मिश्रलाई प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ सिफारिस नगरिएको जनाएको छ । सामाजिक सञ्जालमा मिश्रलाई सिफारिस गरिएको भनेर आएको विवरणमा सत्यता नभएको राप्रपाले जनाएको छ ।

राप्रपाले काठमाडौँ क्षेत्र नम्बर– १ मा प्रत्यक्ष निर्वाचन तर्फ पशुपति शम्सेर राणासहित ४ जनाको नाम सिफारिस गरेको राप्रपा काठमाडौँ क्षेत्र नम्बर– १ क्षेत्रीय समितिले जनाएको छ । समितिले प्रत्यक्ष निर्वाचन तर्फ पशुपति शम्सेर राणा, सोभित क्षेत्री, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठलाई सिफारिस गरेको माइन्युट पार्टी सचिवालयमा दर्ता गरिएको समितिका सदस्य विनोद दवाडीले बताए ।

उक्त माइन्युटमा क्षेत्रीय समिति अध्यक्ष रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेको दवाडीको भनाई छ ।

समितिले नाम सिफारिस नगरेपछि मिश्रले समिति बाहिरको मानिस बोलाएर अर्को माइन्युट खडा गरी आफ्नो नाम लेख्न लगाई सामाजिक सञ्जालमा भ्रम फैलाएको समिति सदस्य दवाडीको आरोप छ । मिश्रले तयार गरेको नक्कली माईन्युटमा क्षेत्रीय समिति अध्यक्ष रामेश्वर श्रेष्ठले हस्ताक्षर नरहेको र अध्यक्ष श्रेष्ठको सहमति पनि नरहेको दवाडीले बताए । 

मिश्रको गतिविधि प्रति आपत्ति जनाउँदै राप्रपा काठमाडौँ क्षेत्र नम्बर– १ का कार्यकर्ताले त्यसको प्रतिकार गर्ने दवाडीले बताए । मिश्रले आफ्नो गैर कानुनी गतिविधि नसच्चाए राप्रपा काठमाडौँ क्षेत्र नम्बर– १ का कार्यकर्ताले चाँडै भेला आयोजना गरी संयुक्त रुपमा त्यसको प्रतिकार गर्नेछन् – राप्रपा काठमाडौँ क्षेत्र नम्बर– १ क्षेत्रीय समितिका सदस्य दवाडीले भने । 

समितिले समानुपातिक तर्फ प्रा. डा. जयन्तनाथ खनाल सहित छ जनाको नाम सिफारिस गरेको दवाडीले बताए ।