मिराज ढुङ्गाना नेतृत्वको समूहद्वारा सर्वपक्षीय सरकारको मागसहित आन्दोलन घोषणा


काठमाडौँ।

जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनको घोषणा गरेको छ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ढुङ्गाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनलाई धोका दिएको आरोप लगाउँदै सर्वपक्षीय सरकार आवश्यक रहेको धारणा सार्वजनिक गरेको हो।

ढुङ्गानाले सुशीला कार्की नेतृत्वको सरकारले १०० दिनको अवधिमा कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको दाबी गर्दै सोमबारदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरे।

उनले भने, “भदौमा भएको जेनजी आन्दोलन कुनै व्यक्ति विशेषको ब्रान्ड बन्न वा कसैको राजनीतिक उचाइको भर्‍याङ हुनका लागि होइन। आन्दोलनको भावनामाथि टेकेर कसैले अगाडि बढ्ने प्रयास गर्नु हुँदैन। सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म बोक्न सकेन, न त हाम्रो प्रतिनिधित्व नै गर्छ। त्यसैले अब सर्वपक्षीय सरकार गठन हुनुपर्छ।”

उनका अनुसार आजको आवश्यकता सबै राजनीतिक शक्ति र सरोकारवालालाई विश्वासमा लिन सक्ने नेतृत्व हो, जसले देशलाई वर्तमान संकटबाट निकास दिन सकोस्।

ढुङ्गानाले वर्तमान सरकारले आन्दोलनको भावना आत्मसात गर्न नसकेको आरोप लगाउँदै भने, “०८४ को निर्वाचन ०८२ मा सार्नका लागि जेनजी आन्दोलन भएको होइन। यो सरकारले समस्याको समाधान गर्ने संकेत देखाएको छैन। सुशीला कार्की किन बारम्बार चुनावको कुरा मात्र गर्नुहुन्छ ?”