पर्यटन प्रवद्र्धनकालागि दौड प्रतियोगिता

752
Shares

स्याङ्जा ।

स्याङजाको कोल्मामा पर्यटन भित्राउने उद्देश्यका साथ क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गरिने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाले आगामी पुस ८ गते छैटौं क्रस कन्ट्री दौड आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा २५ किमी (२१ वर्षमाथि) खुला, १० किमी महिला, १० किमी (२१ वर्षमुनि) पुरुष, ५ किमी विद्यालयस्तरीय छात्र तथा छात्रा र लुंगी ड्रेसमा ३० वर्ष माथिका महिला (रन फर फन) गरी ६ विधामा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष मेजर सुवेदार दुतप्रसाद गुरुङले बताए ।

२५ किमीतर्फ शीर्ष तीन हुनेले क्रमशः ५० हजार, ४० हजार र १० हजार रुपियाँ तथा महिलातर्फ शीर्ष तीन हुनेले क्रमशः २०, १५ र १० हजार नगद प्राप्त गर्ने छन् । विद्यार्थी समूहमा छात्र तथा छात्रा दुवैतर्फ प्रथमले ८, द्वितीयले ५ र तृतीयले ३ हजार रुपियाँ प्राप्त गर्ने छन् ।

यस्तै रन फर फनतर्फ प्रथमले ५, द्वितीयले ३ र तृतीयले २ हजार प्राप्त गर्ने छन् । सात सय कोल्माबहाकोट क्षेत्र भित्रका एकजनालाई ५ हजार रुपियाँ प्रदान गरिनेछ । प्रतियोगितामा यो पटक विदेशीसहित ५ सय खेलाडी सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतियोगिता संचालन गर्न १२ लाख ८१ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।