सुर्नयामा चिया खेतीको सम्भाव्यता अध्ययन

752
Shares

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नं. ५, ६ र ७ का उच्च क्षेत्रमा चिया खेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत गौरव लुइँटेलसहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको हो ।

गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उच्च क्षेत्रमा चिया खेतीको सम्भाव्यता अध्ययन गर्ने कुरा उल्लेख गरेको र सोही अनुसार तीन वडाका उच्च क्षेत्रमा प्राविधिकसहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताउनुभयो ।

नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका दुईजनासहित स्थानीयहरुको सहभागितामा सुर्नया गाउँपालिका वडा नं. ५ को धुलिधार र रडीगाउँ, वडा नं. ६ को धुलिधार, कलालपसे, जित्कीजुँवाड र मुसे तथा वडा नं. ७ को जित्कीजुँवाड, दाङललगायतका क्षेत्रमा प्रारिम्भक अध्ययन गरिएको हो ।

केही ठाउँमा स्थानीयहरुसँग छलफलसहित चिया खेतीको सम्भावनाका विषयमा बहस गरिएको छ भने केही ठाउँमा भौगोलिक अवस्थाको अध्ययन गरिएको चिया खेती परिचालन तदर्थ समितिका संयोजक कृष्ण विष्टले बताउनुभयो ।

चिया विकास बोर्डको टोलीले सम्भावित स्थानहरुको माटो परीक्षणका लागि लगेको र केही दिनभित्रै प्रतिवेदन आउने विष्टले बताउनुभयो । पहाडी क्षेत्रमा खेतीपाती छोडेर जमिन बाँझो रहेको अवस्थामा चिया खेती वैकल्पिक खेतीको रुपमा फस्टाउन सक्ने सम्भाव्यता रहेको र यसका लागि सबै पक्षसँग छलफल भइरहेको जनाइएको छ ।

उच्च क्षेत्रमा चिया खेतीको सम्भावना रहेको चिया विकास बोर्डका अधिकारीहरुले जनाएको गाउँपालिका अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको हो । यसको रिपोर्ट आउन बाँकी रहेको छ । यो रिपोर्ट आएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौं । यसलाई वैकल्पिक खेतीको रुपमा अगाडि बढाउन सकिने सम्भावना छ ।’ यदि चिया खेतीको शुरुवात भयो र फस्टाउन सक्यो भने पर्यटकीय हिसाबले समेत उपलब्धिमूलक कार्य मान्न सकिन्छ ।