पोखरा महानगरपालिकाले मनायो ६७ औँ स्थापना दिवस

752
Shares

पोखरा । आठौं वर्षमा प्रवेश गरेको पोखरा महानगरपालिकाले बुधबार ६७ औं स्थापना दिवस मनाएको छ । गतवर्षको फागुनमा सातौं स्थापना दिवस मनाएको पोखरा महानगरपालिकाले यो वर्षको पुस २ गतेलाई स्थापना दिवसको रुपमा मानाएको हो ।
‘नेपाल राज्य नगरपालिका ऐन, २००६ को दफा ४ को खण्ड (ख) बमोजिम श्री ५ को सरकारले पोखरा नगरपालिका खडा गरी अन्तिम रुपले निम्नलिखित ४ किल्लाभित्र सो नगरपालिकाको इलाका तोकिदिएको छ ।’ यो वि.सं. २०१६ पुस २ गते पोखरा बजार क्षेत्रलाई समेटेर नगरपालिका घोषणा गरेको नेपाल गजेट हो । नेपाल गजेट (हालको रापपत्रजस्तै) अनुसार २०१६ भदौ १ गते गाउँ पञ्चायत र नगरपालिका गठन गरियो । सोही अनुरुप पुस २ गते पोखरा महानगरपालिका घोषणा भएको कारण त्यसैलाई आधार मानेर स्थापना दिवस मनाएको हो ।

नेपाल सरकारले २०७३ फागुन २७ गते पोखरा लेखनाथ महानगरपालिकाको गठन ग¥यो । देशमा संघीय कार्यान्वयनसँगै पोखरा र लेखनाथलाई एक–आपसमा गाभ्दै पोखरा महानगरपालिका बनाइएको हो । महानगरपालिका गठनपश्चात् फागुन २७ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै ७ वर्ष बिताएको पोखरा महानगरपालिकाले यसपटक पुस २ गते आफ्नो स्थापना दिवस मनायो । पोखराको इतिहास खोज्दै नगरपालिकाको स्थापना भएकै दिनलाई स्थापना दिवस मनाउने उद्देश्यका साथ बुधबार पोखराले ६७ औं स्थापना दिवस मनाएको हो ।

संघीयतामा नगरपञ्चायतको अस्तित्व स्वीकार गर्दै मेयर धनराज आचार्यले पुस २ गतेलाई नै स्थापना दिवसको रुपमा मनाएको बताउनुभयो । महानगरपालिकाले पोखराको विकासमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई पोखरा रत्न सम्मान अर्पण गर्दै स्थापना दिवस मनाएको छ । मेयर आचार्यका अनुसार पोखरा नगरपालिकाका संस्थापक वडाध्यक्ष रमेश सिग्देलको घरमा नेपाल गजेट फेला परेपछि त्यसैलाई आधार बनाएर स्थापना दिवस मनाएको बताउनुभयो ।

‘नगरपालिकाको स्थापना २०१६ साल पुस २ गते भएको पाइएकाले त्यसैलाई आधार मानी पहिलोपटक पोखरा नगरपालिका स्थापना भएको दिनलाई नै स्थापना दिवसको रुपमा हामीले ६७ औं स्थापना दिवस मनायौं’, उहाँले भन्नुभयो ।
तत्कालीन समयमा १३ वडासहित नगरपालिका गठन गरिएको पोखरा २०५२ मा फराकिलो हुँदै १८ वटा वडाका साथ उपमहानगरपालिका घोषणा भयो । यस्तै २०७१ मङ्सिर १६ गते पोखरा उपमहानगरपालिका आसपासका तत्कालीन गाउँ विकास समितिहरू मिलाएर २९ वटा वडासहितको उप–महानगरपालिका बनाइयो ।

नेपालको संविधान २०७२ लागूसँगै २०७३ सालमा पोखरा उप–महानगरपालिका, लेखनाथ नगरपालिका र आसपासका गाविसहरू मौजा, चापाकोट, कास्कीकोट, पुरञ्चौर पुरै, भदौरे तामांगीका वडा नं. ३ र ९, माझठानाका वडा नं. १, ४ र ९, र कालिकाका वडा नं. १ र ५ मिसाएर ३३ वडासहितको महानगरपालिका बनाइएको हो ।

पोखरा महानगरपालिकाले मानवअधिकारचोकदेखि झाँकी, ¥यालीसहित पोखरा सभागृहमा विशेष समारोहका साथ ६७ औं स्थापना दिवस मनाएको हो ।

पोखरेली नवरत्नहरु :
स्थापना दिवसकै अवसरमा महानगरपालिकाले ९ जनालाई पोखरेली नवरत्न सम्मान अर्पण गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने पोखरेलीहरुलाई अर्पण गरिने नवरत्न सम्मानबाट नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ, धार्मिक पर्यटन तथा कृषि उद्यममा योगदान दिएका चन्द्रकान्त बराल, समाजसेवी चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, अग्रज पत्रकार तिलकमान गुभाजु, स्वास्थ्यकर्मी प्राचार्य डाक्टर बुद्धिबहादुर थापा, खेलकर्मी तथा शिक्षाकर्मी प्राचार्य डाक्टर वीरेन्द्रसिंह गुरुङ, उद्यमी रामकली खड्का र उद्योगी तथा शिक्षासेवी हरिप्रसाद पाण्डेलाई अर्पण गरिएको हो ।
२०५५ सालमा पोखरेली नवरत्न सम्मान स्थापना गरिएको थियो । तर उक्त सम्मानलाई निरन्तरता दिन सकिएको थिएन । २०५९ सालमा पुनः अर्पण गरिएको सम्मान त्यसपछि भने रोकिएको थियो ।

२०५५ सालमा लोककवि अलि मियाँ, लोकगायक झलकमान गन्धर्व, डाक्टर भुवनरत्न स्थापित, डाक्टर कुमार शमशेर राणा, अमृतप्रसाद शेरचन, बुद्धिबहादुर श्रेष्ठ, झलक थापा, क्याप्टेन मीनबहादुर गुरुङ र पत्रकार केशवराज पराजुलीलाई अर्पण गरिएको थियो । २०५९ सालमा हरिध्वज तुलाचन, हेमबहादुर प्रधान, रञ्जित गुरुङ, सपना मल्ल, दुर्गा बराल (वात्स्यायन), जोर्ज जोन, कृष्णप्रसाद श्रेष्ठ, धर्मराज थापा र प्रज्ञारत्न वज्राचार्यलाई अर्पण गरिएको थियो । यस्तै २०७२ सालमा साहित्यकार सरुभक्त, मुकुन्दशरण उपाध्याय, हरिदेवी कोइरालालाई नवरत्न सम्मान गरिएको थियो ।