रौतहटमा ट्र्याक्टर–मोटरसाइकल ठक्कर: एकको मृत्यु, एक गम्भीर


रौतहट ।

रौतहटको चन्द्रपुर नगरपालिका–१० अन्तर्गत चपुर–गौर सडक खण्डको बालचनपुरमा गएराति ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

गरुडाबाट बालचनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्र्याक्टरले चन्द्रपुरबाट गरुडातर्फ जाँदै गरेको प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा भएको दुर्घटनामा मोटरसाइकल चालक गडिमाई नगरपालिका–४ सुन्दरपुर निवासी ५० वर्षीय प्रमोद साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार ६५ वर्षीय जोगिन्द्र हजारको टाउकोमा गम्भीर चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनामा संलग्न दुईवटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको भए पनि चालक भने फरार रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश थापाले जानकारी दिनुभयो।