काठमाडौं ।
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन घोषित मितिमै सम्पन्न गराउन सरकार ‘चट्टान झैं दृढ’ रहेको बताउनुभएको छ ।
सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा शनिवार भिडियो सन्देश जारी गर्दै उहाँले निर्वाचन सर्ने वा रोकिने भन्ने हल्ला निराधार र भ्रमपूर्ण भएको दाबी गर्दै भन्नुभयो–‘२०८२ फागुन २१ गतेको निर्वाचन अब केवल कार्यतालिका होइन, देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एकमात्र निर्विकल्प मार्ग हो ।
उहाँले निर्वाचन तयारी पूरा भएको, एकीकृत सुरक्षा योजना स्वीकृत भई नेपाली सेना परिचालन सुनिश्चित भएको तथा निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड बजेट उपलब्ध गराइसकिएको जानकारी पनि दिनुभयो । जेन–जी आन्दोलनका युवालाई विशेष सम्बोधन गर्दै उहाँले आक्रोशलाई मतपत्रमा व्यक्त गर्न आह्वान गर्दै राष्ट्रिय एकतामा जोड दिनुभयो । उहाँले भ्रष्टाचारविरुद्ध अनुसन्धान अघि बढेको र सुशासनका लागि विभिन्न कदम चालिएको उल्लेख पनि गर्नुभयो । प्रधानमन्त्री कार्कीले भिडियो सन्देशमा जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारले देशलाई शान्तिको बाटोमा फर्काएको दाबी गर्दै सबै पक्षलाई धैर्य र एकताका लागि अपिल गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले भिडियो सन्देशमा मतदाता नामावली संशोधन गरी ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरी मतदाता संख्या कुल १ करोड ८१ लाखभन्दा बढी पु¥याएको जानकारी दिनुभयो । उहाँले शक्तिशाली व्यक्ति नहेरी अनुसन्धान अघि बढेको, ठेक्का मिलेमतो तोड्ने प्रयास र राज्यको व्ययभार घटाउन ३८ कार्यालय खारेज तथा ३२३ दरबन्दी कटौती गरिएको बताउनुभयो । जेन–जी आन्दोलनपछि देश शान्तिको बाटोमा फर्किएको, मृतकलाई सहिद घोषणा, घाइतेको उपचार र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष निर्माण गरिएको बारेमा पनि प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देशमा उल्लेख गर्नुभएको थियो ।











प्रतिक्रिया