– चितवनमा गर्जिए, प्रश्न काठमाडौंमै उब्जिए, किन रहे मौन ?
काठमाडौं ।
सहकारी ठगीसम्बन्धी चारभन्दा बढी मुद्दामा पुर्पक्षमा जेलमा रहे पनि अदालतको आदेशबमोजिम झण्डै २ करोड ७४ लाख ८४ हजार रुपियाँ धरौटी बुझाएर छुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शनिवार आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर सुशासनको चर्को भाषण गर्नुभयो । धरौटीमा रिहा भएसँगै उहाँ सुशासनको चर्को हुँकारसहित सार्वजनिक मञ्चमा देखिनुभयो तर उहाँले आफूले धरौटी बुझाएको त्यति धेरै रकमको स्रोत खुलाउने जमर्को गर्नुभएन ।
बाहिर बसेरै मुद्दा लड्न पाउने गरी धरौटीमा बाहिर निस्कनुभएका लामिछानेले त्यति धेरै धरौटी रकम के कसरी जुट्यो भन्ने विषयमा हालसम्म कुनै सार्वजनिक स्पष्टीकरण दिनुभएको छैन । जसले गर्दा ‘सुशासनको नारा लगाउने रविले ३ करोड हाराहारीको धरौटी रकमको स्रोत जनतासामु किन खुलाउन सक्नुभएन ?’ भन्ने अहम् प्रश्नले थुप्रै आशंकाहरू जन्माइरहेको छ ।
विगतदेखि नै अपारदर्शिताको आरोप खेप्दै आउनुभएका लामिछानेले यसपटक सुशासनको झण्डा अझ उचो उठाएपछि बहस झन् चर्किएको हो । फलस्वरूप ‘जय सुशासन’को व्यंग्य, सामाजिक सञ्जालमा देखिन थालेको छ ।
लामिछाने रिहा भएलगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभयो –‘२ करोड ७४ लाख ८४ हजार धरौटीको स्रोत खुलाउनुहोला । जय सुशासन ।’
यो व्यंग्यसँगै सामाजिक सञ्जाल दुई ध्रुवमा विभाजित भएको छ समर्थकले रिहाइको खुशीयाली मनाउँदै गर्दा आलोचकले भने ‘सुशासनको राजनीति गर्नेले पहिलो हिसाब आफैंबाट दिनुपर्छ’ भन्दै प्रश्न उठाए ।
चितवन सभामा रविको गर्जन
भरतपुरमा आयोजित सभामा लामिछानेले पुराना नेताहरूमाथि आक्रोश पोख्दै जेन–जी पुस्ताको खुलेर समर्थन गर्नुका साथै भदौ २३ र २४ गतेको घटनालाई युवाहरूको विद्रोह’को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो– ‘हामीले चुनाव कुरेका थियौं, जेन–जीले चुनावसुनाव कुर्नुभएन, बजाइदिनुभयो ।’ लामिछानेले आफू एउटा चुनावका लागि होइन, एउटा पुस्ताको भविष्यका लागि राजनीतिमा आएको र ‘त्यागका लागि जे पनि छोड्न तयार’ रहेको जिकिर गर्दै भन्नुभयो– ‘चुनाव चिह्न, झण्डा, पद जे चाहिन्छ लैजानुस् । देश बन्नुप¥यो, व्यक्ति बन्नु ठूलो कुरा होइन ।’
भदौ २३ मा कडा, २४ मा किन नरम ?
भदौ २३ गतेको ‘नरसंहार’का दोषीलाई कारबाहीको माग गर्दैगर्दा भदौ २४ गते भएको विध्वंसप्रति भने उहाँको स्वर अपेक्षाकृत नरम देखियो । यसले गर्दा २४ गतेको विध्वंसमा रास्वपाका कार्यकर्ताकै बढी संलग्नता त थिएन ? त्यसैले नेतृत्व मौन वा नरम देखिएको त होइन ? भन्ने आशंकाहरू सामाजिक सञ्जालमा यत्रतत्र उठ्न थालेका छन् ।
सुशासनलाई राजनीतिक ब्रान्ड बनाएर उदाएका लामिछानेबाट रोल–मोडल आचरण अपेक्षित हुन्छ तर धरौटीको स्रोतबारे मौनता, चर्का भाषण तर आफैंप्रति पारदर्शिता अभाव, युवाको आन्दोलनमा समर्थन तर विध्वंसमा अस्पष्टता, यी सबैले सुशासनको नारामाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ । त्यसैले रविका कार्यकर्ताबाहेक अन्य जनताले भनिरहेका छन् ‘गर्जनभन्दा पहिले जवाफ चाहिन्छ । सुशासन भाषणले होइन, पारदर्शिताले प्रमाणित हुन्छ ।’

‘२ करोड ७४ लाख ८४ हजार धरौटीको स्रोत खुलाउनुहोला । जय सुशासन ।’











प्रतिक्रिया