नेपाल मेडिकल काउन्सिल निर्वाचन उडान स्थगित हुँदा निर्वाचन नै स्थगित

752
Shares

काठमाडौं ।

नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य पदका लागि काठमाडौँ उपत्यकाबाहिर शुक्रबारदेखि मतदान भइरहेको छ । दुई दिनसम्म चल्ने निर्वाचन अन्तर्गत विभिन्न मतदान केन्द्रमा शुक्रबार र शनिबार मतदान तालिका तोकिएको थियो ।

निर्वाचन तालिकाअनुसार भेरी अस्पताल नेपालगञ्ज (बाँके) र सेती प्रादेशिक अस्पताल धनगढी (कैलाली) मा शनिबार मतदान हुने कार्यक्रम थियो । तर ती दुवै केन्द्रमा मतदान हुन सकेन । काउन्सिलको निर्वाचन समितिले उक्त दुई मतदान केन्द्रमा आइतबार मतदान गराइने जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत प्रा.डा. रविन्द्रमान श्रेष्ठका अनुसार ती मतदान केन्द्रका लागि खटाइएका निर्वाचन अधिकृतहरू हवाई उडानमार्फत जाने तालिका रहे पनि शुक्रबार उडान स्थगित हुँदा शनिबार मतदान सम्भव नभएको हो ।
“दुवै स्थानतर्फका उडान शुक्रबार स्थगित भए । त्यसपछि स्थलमार्गबाट पुग्दा शनिबारकै लागि मतदान गराउन सम्भव भएन,” डा.श्रेष्ठले भन्नुभयो, “त्यसैले आइतबार मतदान गरिनेछ ।”

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले काठमाडौँ उपत्यकाबाहिरको मतदान शान्तिपूर्ण रूपमा भइरहेको बताउँनुभयो । उहाका अनुसार शुक्रबार मात्रै करिब ३ हजार ५ सय मत खसेको छ । शनिबारको मतदान विवरण भने अद्यावधिक भइनसकेको उहाँले जानकारी दिनुभयो ।

नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा देशभरका चिकित्सकहरूको सक्रिय सहभागिता देखिएको छ । निर्वाचन सम्पन्न भएपछि मतगणनाको कार्यतालिका सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार कोशी प्रदेशअन्तर्गत मेची प्रादेशिक अस्पताल, भद्रपुर (झापा) मा मतदान शुक्रवार तोकिएको थियो । मधेश प्रदेशमा गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज (सप्तरी) र लहान जिल्ला अस्पताल, लहान (सिराहा) मा पनि शुक्रवारकै दिन मतदान तोकिएको थियो ।

यस्तै, वागमती प्रदेशअन्तर्गत उपत्यकाबाहिरका केन्द्रहरूमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा (मकवानपुर) मा मतदान शुक्रवारै भएको छ । लुम्बिनी प्रदेशमा भीम अस्पताल, भैरहवा (रुपन्देही) र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही (दाङ) मा पनि शुक्रवारै मतदान हुने तालिका थियो । कर्णाली प्रदेशअन्तर्गत सुर्खेत प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा समेत शुक्रवार मतदान भएको छ ।

निर्वाचन समितिका अनुसार केही मतदान केन्द्रमा शनिबार मात्र मतदान हुने व्यवस्था गरिएको थियो । जसअनुसार जिल्ला अस्पताल पाल्पा, भेरी अस्पताल नेपालगञ्ज (बाँके) र सेती प्रादेशिक अस्पताल धनगढी (कैलाली) मा शनिबार मात्रै मतदान हुने जनाएको थियो ।

यसैगरी, दुई दिन (शुक्रबार र शनिबार) मतदान हुने केन्द्रहरूमा कोशी अस्पताल (इलाइट क्लब, शनिहाट चौक, विराटनगर–७), विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (सुनसरी), जनकपुर प्रादेशिक अस्पताल जनकपुरधाम (धनुषा), नारायणी अस्पताल वीरगञ्ज (पर्सा), भरतपुर अस्पताल भरतपुर (चितवन), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा (कास्की) र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल (रुपन्देही) रहेका छन्।

यी केन्द्रहरूमा पुस ४ र ५ गते दुवै दिन मतदान गर्न जनाएको थियो ।निर्वाचनको दोस्रो चरणअन्तर्गत धुलिखेल अस्पताल, धुलिखेल (काभ्रेपलाञ्चोक) मा पुस ११ गते (शुक्रबार) मतदान हुनेछ । काठमाडौँ उपत्यकाभित्र राष्ट्रिय सभा गृह, भृकुटीमण्डप र

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल (ललितपुर) मा पुस ११ र १२ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले सबै मतदान केन्द्रमा आवश्यक तयारी पूरा भइसकेको जनाएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गरिने समितिको भनाइ छ । आज हुन नसेका दुई स्थानमा पनि आईतबार निर्वाचन हुने समितिले जनाएको छ ।