तिलगंगाबाट ३१ बर्षमा ७१ लाख बढी कृतिम लेन्स उत्पादन

1.69k
Shares

दोलखा ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले स्थापना भएको ३१ बर्षको अवधिमा मोतिया विन्दुको अप्रेशन पछि लगाईने कृतिम लेन्स (इस्ट्रा अकुलर लेन्स) ७१ लाख भन्दा बढी उत्पादन गरेको र ६५ लाख भन्दा बढी नेपाल लगायत विश्वका ४० मुलुकमा वितरण गरेको जनाएको छ ।


नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले दोलखामा आयोजना गरेको सामाजिक लेखा परिक्षण बैठकमा प्रतिष्ठानको कार्यक्रम विभागका प्रमुख डा. मोहन कृष्ण श्रेष्ठले सन् १९९२ मा स्थापना भै सन् १९९४ बाट सञ्चालनमा आएको प्रतिष्ठानले ३१ बर्षको अवधिमा ७१ लाख ७३ हजार तीन सय एक वटा कृतिम लेन्स उत्पादन गरेको र यो अवधिमा नेपाल लगायत विश्वका ४० मुलुकमा ६५ लाख एक हजार पाँच सय ३१ वटा लेन्स वितरण गरेको बताएका छन् ।

प्रतिष्ठानले उत्पादन गरेको कृतम लेन्स नेपालमा तीन डलर भन्दा कम मूल्यमा राख्न सकिने र अन्य मुलुकहरुमा तीन देखि चार डलरसम्ममा राख्न सकिने कार्यक्रम विभाग प्रमुख डा. श्रेष्ठले जानकारी दिए ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले ३१ बर्षको अवधिमा अस्पतालमा ४९ लाख ३१ हजार चार सय ७० र समुदायमा ४८ लाख ८० हजार पाँच सय ८९ गरी ९८ लाख १२ हजार ५९ जना आँखाका विरामीलाई सेवा प्रदान गरेको र अस्पतालमा तीन लाख ७६ हजार एक सय दुई तथा समुदायमा दुई लाख ३९ हजार छ सय ८४ गरी छ लाख १५ हजार सात सय ८६ जनाको मोतिया विन्दु लगायतको अप्रेशन गरिएको डा. श्रेष्ठले जनाएका छन् ।

त्यसैगरी यो अवधिमा १५ हजार नौ सय ५४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको प्रतिष्ठानका कार्यक्रम प्रमुख डा. श्रेष्ठको भनाई छ ।नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको एउटा केन्द्रीय अस्पताल, तीन वटा सामुदायीक अस्पताल, १४ वटा शल्यक्रिया आँखा केन्द्र, १३ वटा सामुदायीक आँखा केन्द्र र ५८ वटा शहरि, ग्रामिण आँखा केन्द्र रहेको जनाईएको छ । प्रतिष्ठानले सात प्रदेशका ३८ जिल्लामा शाखा स्थापना गरेको जनाएको छ ।

स्थापनाको छोटो समयमानै आँखाको उपचार तथा मोतिया विन्दुको अप्रेशन र कृतिम लेन्स उत्पादनमा राम्रो सेवा दिन सकेको प्रतिष्ठानले नेपाल लगायत विश्वका ४० मुलुकका विशेषगरी ग्रामिण क्षेत्रका विपन्न परिवारको लागि सुलभ मूल्यमा सेवा दिन सकेको कार्यक्रम विभाग प्रमुख डा. मोहनकृष्ण श्रेष्ठ बताउछन् ।

प्रतिष्ठानले सन् २०२३ बाट पाँच बर्षको लागि अन्धोपन उन्मुलन परियोजना सञ्चालन गरेको र यसले चारवटा प्रदेशका दोलखा लगायत १० जिल्लामा आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको डा. श्रेष्ठले बताए । यो परियोजनाबाट सञ्चालनमा आएको विद्यालय आँखा स्वास्थ्य कार्यक्रम लगायतका कार्यक्रमहरु निक्कै उपलब्धि मूलक रहेको डा. श्रेष्ठको भनाई छ ।
प्रतिष्ठानले दोलखामा तिलगंगा दोलखा लायन्स सामुदायीक सर्जिकल आँखा केन्द्र सञ्चालन गरेको र यो मातहत एउटा सर्जिकल केन्द्र, दुई वटा सामुदायीक केन्द्र र चार वटा ग्रामिण आँखा केन्द्र रहेको तिलगंगा दोलखा लायन्स सामुदायीक सर्जिकल आँखा केन्द्रका इन्चार्ज विप्लव खड्काले बताए ।

दोलखामा हालसम्म सर्जिकल आँखा केन्द्रबाट ७३ हजार सात सय ४३ र समुदायमा एक लाख नौ हजार तीन सय १४ जनाको आँखा परिक्षण भएको र चार हजार ४१ जनाको मोतिया विन्दुको अप्रेशन भएको आँखा केन्द्रका इन्चार्ज खड्काले बताए ।
समाजसेवी शान्तकृष्ण श्रेष्ठको सभापतित्मा सम्पन्न सामाजिक लेखा परिक्षण बैठकमा परियोजना अधिकृत हस्त राईले सहजिकरण गरेका थिए ।