सुरक्षा सङ्कटले निर्वाचन नै जोखिममा : डा. शेखर कोइराला


काठमाडौँ।  

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पछिल्लो केही दिनयता आफ्नो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं. ६ मा सक्रिय रहनुभएको छ। उहाँ गत बुधबारदेखि स्थानीय नेता तथा कार्यकर्तासँग निरन्तर भेटघाटमा जुटिरहनुभएको छ।

पार्टीको एकल सिफारिसमा उम्मेदवार बन्नु भएका नेता कोइरालाले मुलुकमा गहिरिँदै गएको सुरक्षा सङ्कटप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै आगामी फागुन २१ गते हुने निर्वाचन नै प्रश्नको घेरामा परेको टिप्पणी गर्नुभयो।

विराटनगर–६ अन्तर्गत सरौचियामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उहाँले निर्वाचनको वातावरण बनाउन सरकार असफल देखिएको बताउनुभयो। “कांग्रेस निर्वाचनमा जाने निर्णयमा स्पष्ट छ, तर शान्ति सुरक्षा सुनिश्चित नगरी निर्वाचन सम्भव छैन,” उहाँले भन्नुभयो।

जेलबाट हजारौँ कैदी फरार हुनु, सुरक्षाकर्मीका हतियार लुटिनु र दोषीहरू अझै पक्राउ नपर्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै नेता कोइरालाले सरकारको प्राथमिकता गलत दिशामा गएको बताउनुभयो। पूर्वप्रधानमन्त्री तथा शीर्ष राजनीतिक नेताहरू काठमाडौँ बाहिर जान नसक्ने अवस्था लोकतान्त्रिक अभ्यासकै अपमान भएको उहाँको भनाइ थियो।

भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका घटनाबारे फरक सन्दर्भमा मूल्याङ्कन गर्नुपर्ने धारणा राख्दै उहाँले पार्टीको १५औँ महाधिवेशन केही समय तलमाथि हुनसक्ने सङ्केत पनि गर्नुभयो।

सभापतिको उम्मेदवारी दाबी गर्दै आउनु भएका नेता कोइरालाले नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिँदै क्रियाशील सदस्यता व्यवस्थापनमा गम्भीर हुन कार्यकर्तालाई आग्रह गर्नुभयो।

यसअघि उहाँले मोरङको सुन्दरहरैँचा–५ मा निर्माण गरिएको बुद्ध विहारको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा पनि नेता कोइरालाले आफू नियमित रूपमा क्षेत्रको विकाससँग जोडिँदै आएको र आगामी निर्वाचनका लागि जनतासँग थप नजिकिन कार्यकर्तालाई निर्देशन दिनुभयो।