निकुञ्जका गोहीको गणना, डल्फिन पनि भेटियो

846
Shares

नवलपरासी ।

चितवन राष्ट्रिय निकुञ्ज स्थित राप्ती र नारायणी नदीमा हालै गोहीको गणना तथा अनुगमन गरिएको छ ।
अनुगमनमा यहाँका ताल तलैया र नदी किनारामा बिचरण गर्ने दूर्लभ एवं संकटापन्न घडियाल गोहीको अध्यावधिक एवं गणना गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताए ।

थापाका अनुसार अवलोकनका क्रममा राप्ती तथा नारायणी दुबै नदी प्रणालीमा ३ सय ६६ घडियाल गोहीको प्रत्येक्ष अवलोकन गरिएको हो ।जसमा राप्ती नदीमा २ सय ३१ र नारायणीमा १ सय ३५ गोही भेटिएका थिए ।जसमा भाले घडियाल नारायणीमा २ र राप्तीमा ७ गरि ९ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा अधिक हो ।

गत वर्ष राप्तीमा २ सय ६ र नारायणीमा १ सय ४६ घडियाल रहेका थिए । अनुगमनका क्रममा नारायणी नदी प्रणालीको गोलाघाट क्षेत्रमा स्थानीय भाषामा सोस भनिने १ डल्फिन समेत भेटिएको अनुगमनकर्ताहरूले बताए ।

संकटापन्न गोही नेपाल लगायत विश्वबाटै हराउन थाले पछि सन १९७८ मा चितवनको कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरि यसको संरक्षण प्रयास भई रहेको छ ।प्रजनन् केन्द्र मार्फत परस्थानीय संरक्षण तथा प्राकृतिक बासस्थानमा पुर्नस्थापन कार्य गर्दै घडियाल गोहीको दिगो संरक्षण कार्यमा निरन्तरता दिइदै आएको सूचना अधिकारी थापा मगरले बताए ।