ललितपुर ।
किटिनी माध्यामिक विद्यालयको वार्षिक कार्यतालिका अनुसार रोटरी क्लव अफ यल तथा दूर शिक्षा नेटवर्कको सहकार्यमा ‘किटिनी नव प्रवर्धनात्मक सिकाइ प्रदर्शनी २०८२’ पौष ४ गते किटिनी माध्यामिक विद्यालय ललितपुरमा शुक्रबार सम्पन्न भयो ।
‘कृत्रिम बौधिकताको यस युगमा सामुदायिक विद्यालयहरुमा कोडिङ र रोबोटिक्स पाठ्यक्रमको सुरुवातले राष्ट्रको भविष्यको आर्थिक समृद्धि निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको किटिनी माध्यामिक विद्यालयका प्रधानाध्यापक सरोज कुमार के सीले बताउनु भयो ।


सो कार्यक्रममा किटिनी माध्यामिक विद्यालय, बज्रबाराही माध्यामिक विद्यालय, बुद्ध माध्यामिक विद्यालयका ६ देखि ९ कक्षा सम्मका विद्यार्थीहरूले तयार पारेका ४० वटा रोबोटिक्स तथा कोडिङका परियोजना सामग्रीहरू प्रदर्शनी गरिएको थियो भने भौतिकशास्त्र, रसायनशास्त्र, गणित, भाषा र परम्परागत प्रविधिसँग सम्बन्धित अन्य ३० ओटा परियोजनाहरू पनि प्रदर्शनीमा राखिएको थियो । सहभागी विद्यालयका करिव २ सय विद्यार्थीको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा विद्यार्थीले तयार पारेका रोबोटिक्स तथा कोडिङका सामग्रीहरू प्रति अधिकांशको आकर्षण भएको देखिन्थ्यो । प्रदर्शनीमा सहभागी विद्यार्थीहरुले आफ्नो परियोजना अन्तर्गत घरको ढोका, बत्ति, पंखा आदि मोवाइल वा कम्प्युरमार्फत टाढैबाट कन्ट्रोल गर्न मिल्ने प्रविधि, हातको सेन्सरले चल्ने स्मार्ट डस्ट विन, बाहिर घुम्न गएका बेला घरका बोटविरुवामा पानी हाल्न सकिने उपकरण, अब्सट्याकल अभोइड गर्ने अर्थात कुनै बाधा अड्नचन आएमा आफैँ दिशा बदलेर जाने रोवोर्ट, थ्रिडी प्रिन्टर, टाढाबाटै निर्माण उपकरण कन्ट्रोल गरेर मानवरहित किसिमले सडक, सुरुङ मार्ग लगायतका अन्य निर्माण कार्य गर्न सक्ने रोवर्ट, ट्राफिक कन्ट्रोल सिस्टम लगायतका विभिन्न परियोजनाहरु प्रस्तुत गरेका थिए ।
रोबोटिक्स र कोडिङ सम्बन्धमा प्रमुख सहयोगी संस्था रोटरी क्लव अफ यलका रोबोटिक्स र कोडिङको सर्भिस डाइरेक्टर ई दिनेश लाल श्रेष्ठले ‘स्कुलका विद्यार्थीहरुको ज्ञान शीपलाई विभिन्न व्यावहारिक परियोजनामार्फत उजागर गर्न विद्यालयको कार्यक्रमअनुरुप रोबोटिक्स, कोडिङ, विज्ञान अन्तर्गतका विभिन्न विषयका साथै अन्य विषयमा पनि विद्यार्थीले प्रदर्शनी गरेको’ बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘करिव २ वर्ष अघिदेखि फुलचोकी माध्यामिक विद्यालय, सरस्वती माध्यामिक विद्यालय र किटनी माध्यामिक विद्यालयमा रोबोटिक्स बूट क्याम्प गरी त्यहाँ सिकेको ज्ञानलाई प्रोजेक्टमा रुपान्तरण गरेर प्रदर्शनी गर्ने गरिएको हो । किटिनी माध्यामिक विद्यालयले अरु भन्दा बढी चासो दिएर थप काम गर्न पे्ररित गरेपछि एआई, रोबोटिक्स र कोडिङको १ वर्षको कोर्ष नै विकास गरेर कार्यान्वयन गरिएको छ ।
एआइलाई बर्तमान युगमा फोर्थ रिभुलेसन भन्ने गरिन्छ र अहिले समय नै एआईको भएको छ । विकसित देशमा स्कुले बच्चाहरुलाई शीप सिकाउने सम्बन्धमा धेरै नै काम भइसकेको छ । नेपालमा केही प्राइभेट स्कुलमा यो विषय शुरु हुन थाले पनि सामुदायिक विद्यालयको यसमा पहुँच कमजोर छ । स्कुलले मात्र सक्तैन, सरकारले यसतर्फ तत्परता देखाएको पाइदैन । हाम्रो रोटरी क्लवले ललितपुर क्षेत्रमा काम गर्ने भएकोले हामीले स्कुलसँग सहकार्य गरेर प्रारम्भ गरेको हो । यसको परिणाम राम्रो पाएका छौं । यसमा संघीय र स्थानीय सरकारले बढी चासो दिन जरुरी छ ।’
रोटरी क्लव अफ यलका निर्देशक ई. मिनु प्रधान सो कार्यक्रम सम्बन्धमा भन्नुहुन्छ, ‘सन् २०२४ मा रोटरी क्लव अफ यलले गोदावरी नगरपालिकाका ३ वटा सामुदायिक विद्यालयमा कोडिङ र रोबोटिक्स बुट क्याप सञ्चालन गरेको थियो भने यस वर्ष गोदावरी, महालक्ष्मी र ललितपुर नगरपालिकाका ६ वटा विद्यायमा यस्तै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
दिगो परिवर्तनका लागि समुदायको सेवा गर्ने लक्ष्यबाट निर्देशित रोटरी क्वल अफ यलले शैक्षिक वर्ष २०२५ को सुरुवातदेखि किटिनी माध्यामिक विद्यालय गोदावरीका करिव ६० जना विदार्थीलाई चयन गरी अलग समूहमा कोडिङ र रोबोटिक्सको एक वर्ष लामो परिचयात्मक पाठ्यक्रम सुरु गरेको छ ।
सामुदायिक विद्यालयमा प्रविधि बारे चेतना तथा ज्ञान दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न सहयोग गरिएको हो । हाल हामीकहाँ चलिरहेको सामान्य शिक्षा भन्दा पनि विकसित देशमा चल्न थालेका प्रविधिहरु बारेमा चेतना ज्ञान दिने उद्देश्य राखिएको छ ।’
विद्यालयमा रोबोटिक्स, कोडिङ र एआई विषयमा सेवा दिइरहेको दूर शिक्षा एजुकेसनका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डे भन्नुहुन्छ, ‘बालबालिकालाई सानैमा रोबोटिक्स, कोडिङ र एआई जस्ता प्राविधिक विषयमा शिक्षा दिन सकेमा भविष्यमा राम्रो इनोभेटर बन्न सक्छन । प्र्रविधि भन्ने कुरा हरेक क्षेत्रमा आवश्यक छ भन्ने कुरा हामीले कोभिड महामारीका बेला पनि अनुभव गरिसक्यौं । विद्यार्थीको सिकाइ र उत्साह अत्यन्तै राम्रो पाएकाछौं । प्रविधिका समस्या समाधान गर्ने कुरामा उनीहरु धेरै अघि बढेका छन् । त्यसैले यस किसिमको शिक्षा अहिले अति महत्वपूर्ण छ । यसलाई सवैले प्रोत्साहित गर्नुपर्छ ।’













प्रतिक्रिया