ठेक्का तोडिएका सडक–पुल योजनामा तत्काल नयाँ टेण्डरको निर्देशन


काठमाडौँ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक तथा पुल योजनाको निर्माण सुनिश्चित गर्न तत्काल नयाँ टेण्डर प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री घिसिङले रद्द गरिएका ठेक्काको बाँकी कामको नापजाँच गरी आवश्यक बजेट मूल्याङ्कनसहित नयाँ टेण्डर प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो ।

सडक विभागअन्तर्गत वर्षौंदेखि अलपत्र पारिएका ४३ वटा सडक तथा पुल निर्माणका ठेक्का तोडिएका छन् । ती ठेक्काको कुल रकम दुई अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ । मन्त्री घिसिङले यी योजनाका लागि स्रोत व्यवस्थापन पहिल्यै भएकाले हाल समस्या नरहेको र आवश्यक परे अर्थ मन्त्रालयसँग समन्वय गरिने बताउनुभयो ।

तराई–मधेश क्षेत्रमा पुल निर्माणमा देखिएका समस्याप्रति ध्यानाकर्षण गराउँदै उहाँले पुल आयोजनामा बहुवर्षीय सहमतिमार्फत अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा मन्त्रालयअन्तर्गतका निकायको प्रगति कम देखिएको उल्लेख गर्दै आगामी महिनामा सुधार गर्न सबै निकायलाई पहल गर्न आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव केशव कुमार शर्माले पनि त्रैमासिक प्रगति उत्साहजनक नभएको भन्दै ठेक्का तोडिएका परियोजना अलपत्र नपारी तत्काल व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।

चालू आवमा मन्त्रालयअन्तर्गत एक खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिलो त्रैमासिकका लागि विनियोजित ४८ अर्ब ५२ करोडमध्ये ११ अर्ब ६४ करोड रुपैयाँ मात्र खर्च भएको छ, जुन वार्षिक लक्ष्यको ७.६७ प्रतिशत मात्र हो ।