नेकपाले निर्वाचन उम्मेदवारका लागि नयाँ मापदण्ड लागू


काठमाडौ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ।

पार्टीको आन्तरिक परिपत्रअनुसार उम्मेदवार कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण रूपमा स्वच्छ हुनुपर्नेछ।

परिपत्रमा प्रतिनिधि सभा उम्मेदवारले २५ वर्ष र राष्ट्रिय सभा उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, मतदाता नामावलीमा नाम दर्ता भएको र संविधान तथा कानूनले अयोग्य नठहरिएको हुनुपर्ने उल्लेख छ।

बहालवाला राष्ट्रिय सभा, प्रदेश सभा तथा स्थानीय तहका पदाधिकारीलाई उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ भने आर्थिक पारदर्शितालाई विशेष प्राथमिकता दिइएको छ।

भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर भएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने पार्टीले स्पष्ट पारेको छ।