काठमाडौं ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा उनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको हो ।
बोर्डको प्रतिवेदनअनुसार मोरङ जिल्लाको साविक विराटनगर उपमहानगरपालिका–९ निवासी ४२ वर्षीय अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबारमा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरेका थिए । यस क्रममा उनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने कार्य गरी करिब ४९ लाख १९ हजार ८ सय ६५ रुपैयाँ ९० पैसा गैरकानुनी नाफा आर्जन गरेको आरोप छ ।
यसबाहेक, अग्रवालले अन्य TMS युजर प्रयोग गरी आपसी खरिद–विक्री गर्ने, आफन्त तथा सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी शेयर कारोबार गर्ने तथा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य कृत्रिम रूपमा बढाउने कार्य गरेको बोर्डको निष्कर्ष छ । यी कार्यहरू धितोपत्र ऐनको दफा ९४ (क) र (ख) तथा दफा ९५ अनुसार झुटो कारोबार र मूल्य प्रभावित गर्ने कसूरमा पर्ने बताइएको छ ।
सोही आधारमा २०८२/०९/०४ गते काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति प्राप्त भई अग्रवाललाई सोही दिन काठमाडौं महानगरपालिका–४, चुनदेवीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।
धितोपत्र बजारमा पारदर्शिता र लगानीकर्ताको हित संरक्षणका लागि यस्ता गैरकानुनी गतिविधिमाथि कडा निगरानी र कारबाही आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।











प्रतिक्रिया