नेकपाले काठमाडौंमा भव्य एकता सभा आयोजना गर्दै


काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्दैछ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने पार्टीको दाबी छ ।

नेता रामकुमार भट्टराईका अनुसार बिहान ११ः३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस भेला भई दिउँसो सवा १२ बजे भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ । सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपालसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक १९ गते विभिन्न १२ वामपन्थी घटक एक भएर नेकपा गठन भएको थियो । पार्टीले मंसिर १२ गतेदेखि सातै प्रदेशमा एकता सन्देशसहित आमसभा गर्दै आएको छ ।