काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई नेपालको राजनीतिमा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने ऐतिहासिक अवसरका रूपमा वर्णन गर्नुभएको छ । सरकार गठनको एक सय दिन पूरा भएको अवसरमा शनिबार जारी सन्देशमा उहाँले यो निर्वाचन देशलाई स्थिरता र सुशासनतर्फ लैजाने एक मात्र निर्विकल्प मार्ग भएको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले निर्वाचन सार्ने वा रोक्ने हल्ला निराधार रहेको स्पष्ट पार्दै सरकार तोकिएको मितिमै निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा चुनाव सम्पन्न गर्न दृढ रहेको बताउनुभयो । उहाँले चुनावमा हार–जितभन्दा लोकतन्त्र, राष्ट्रिय एकता र राष्ट्रियताको जित नै सबैभन्दा महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिँदै ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भइसकेको, सुरक्षा निकाय परिचालन गरिएको र निर्वाचन आयोगका लागि आवश्यक बजेट सुनिश्चित गरिएको बताउनुभयो । मतदाता नामावली ऐन संशोधनमार्फत आठ लाखभन्दा बढी नयाँ युवालाई मताधिकार प्रदान गरिएको उल्लेख गर्दै उहाँले युवालाई मतपत्रमार्फत परिवर्तनको पक्षमा उभिन आह्वान गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध कडा कारबाही, फजुल खर्च नियन्त्रण, अनावश्यक कार्यालय खारेज, बजेट पुनः प्राथमिकीकरण र सेवा प्रवाह सुधारलाई सरकारका प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो । साथै उहाँले शान्ति, स्थिरता र लोकतान्त्रिक प्रक्रियामार्फत समृद्ध भविष्य निर्माण गर्न सबै राजनीतिक दल र नागरिकलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।











प्रतिक्रिया