धादिङ।
धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–७ पोखरीमा एक वृद्ध महिलाको कर्तव्य गरी हत्या भएको घटनामा संलग्न एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ०८२ पुस ३ गते राति करिब ९ बजेको समयमा सिद्धलेक गाउँपालिका–७ पोखरी निवासी ९२ वर्षीया पविमाया घले आफ्नै बसोबास गर्दै आएको घरको पिँढीमा टाउको फुटेको, शरीरमा चोटपटक लागेको र रगतले लतपतिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
घटनाको जानकारी प्राप्त भएपछि ०८२ पुस ४ गते बिहान जिल्ला प्रहरी कार्यालय धादिङ तथा इलाका प्रहरी कार्यालय गजुरीबाट विज्ञ चिकित्सकसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त घटनामा मृतकको छिमेकी सिद्धलेक गाउँपालिका–७ पोखरी निवासी ३३ वर्षीय आइतराम घलेको संलग्नता देखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानबाट संलग्न देखिएका आइतराम घलेलाई सोही दिन घटनास्थल नजिकै रहेको निजकै घरबाट पक्राउ गरिएको हो। मृतकका छोरा लीला बहादुर घलेले कर्तव्य ज्यान सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा जाहेरी दरखास्त दिएका थिए। जाहेरीका आधारमा मुद्दा दर्ता गरी पक्राउ परेका आइतराम घलेलाई पुस ४ गते जिल्ला अदालत धादिङ दिन १० (दश) को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार मृतक पविमाया घले आफ्नो छोरा लीला बहादुर घले बस्ने घरभन्दा माथिल्लो भागमा रहेको छुट्टै घरमा एक्लै बस्दै आएकी थिइन्। उनको खानपिन, रेखदेख तथा अन्य व्यवस्थापन छोराले नै गर्दै आएको बुझिएको छ। यता प्रतिवादी आइतराम घलेको घर मृतकको घर नजिकै रहेको र उनका बुवा–आमाको मृत्यु भइसकेकाले उनी एक्लै बस्दै आएको अनुसन्धानमा खुलेको छ।
प्रहरीले दिएको जानकारी अनुसार मृतक र प्रतिवादी नजिकका नातेदार नभए पनि उनीहरू दैनिकजसो भेटघाट गर्ने, आपसमा गफ गर्ने र हजुरआमा–नातीजस्तै व्यवहार गर्दै आएका थिए। मिति २०८२ साल पुस ३ गते मृतक बस्ने घर फोहोर भएकाले मृतकका छोरा र प्रतिवादी मिलेर घर सफा गरेको समेत खुलेको छ। सो क्रममा प्रतिवादीले मृतकसँग रक्सी खानका लागि पैसा माग्ने गरेको र विगतमा मृतकले आफ्नो घरछेउको दाउरा लगेको विषयमा गुनासो गर्ने गरेको पनि अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रतिवादी अविवाहित, एक्लै बस्ने, ज्याला मजदुरी गर्ने, दैनिकजसो रक्सी सेवन गर्ने र छिट्टै आवेशमा आउने स्वभावका व्यक्ति रहेको खुलेको छ। घटनाको दिन रातिको समयमा प्रतिवादीले रक्सीको नशामा मृतकको घरमा गई आवेशमा काठको चौपाटाले मृतकको टाउकोमा प्रहार गरी हत्या गरेको र त्यसपछि घटनास्थल छाडेको भनी आफ्नो कसूर स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको काठको चौपाटा समेत घटनास्थलबाट बरामद गरिएको छ।
मृतकको शव जिल्ला अस्पताल धादिङमा पोष्टमार्टम पश्चात पुस ४ गते मृतकका छोरा लीला बहादुर घलेले जिम्मा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दहालले जानकारी दिए ।











प्रतिक्रिया