नेपाल ओलम्पिक कमिटीद्वारा १४ खेलाडीलाई छात्रवृत्ति


काठमाडौं ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपाली खेलकुदको व्यावसायिक विकास र अन्तर्राष्ट्रिय मञ्चमा सफलता प्राप्त गर्ने लक्ष्यका साथ १४ जना खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गर्दै एनओसीले आगामी २०२८ लस एन्जलस ओलम्पिक, आइची–नागोया एसियन गेम्स र युथ ओलम्पिक गेम्सलाई लक्षित गरी खेलाडीहरूसँग औपचारिक सम्झौता गरेको हो । एनओसीले सन् २०२८ मा अमेरिकामा आयोजना हुने ओलम्पिकको तयारीका लागि ८ जना उच्च प्रतिभा भएका खेलाडीहरूलाई विशेष छात्रवृत्तिमा समेटेको छ। यस अन्तर्गत ब्याडमिन्टनका प्रीन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी सिभाली गुरुङ, स्पोर्ट्स क्लाइबिङकी तेन्जिङ राई र स्विमिङका एर्भिन श्रेष्ठ रहेका छन् । यी खेलाडीहरूले सम्बन्धित खेल संघमार्फत प्रत्येक चार महिनामा १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन् ।

एसियन गेम्स र युथ ओलम्पिकका लागि सहयोग

त्यसैगरी, आगामी एसियन गेम्सका लागि पाँच जना पदक सम्भावना भएका खेलाडीहरूलाई छनोट गरिएको छ । जसमा करातेकी एरिका गुरुङ र सानुमाया थिङ, आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्रबहादुर थापा र उसुकी सुस्मिता तामाङ रहेका छन् । त्यस्तै, युथ ओलम्पिकका लागि उसु खेलाडी रश्मि तामाङ छनोट भएकी छन् । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार यी दुवै विधाका खेलाडीहरूले आफ्नो तयारीलाई सुदृढ बनाउन मासिक ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नेपाल ओलम्पिक कमिटीले यस कार्यक्रमलाई केवल आर्थिक सहयोग मात्र नभई नेपाली खेलाडीहरूको प्रदर्शनमा सुधार ल्याउने एउटा रणनीतिक कदमको रूपमा लिएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले यो छात्रवृत्तिले खेलाडीहरूलाई ढुक्क भएर प्रशिक्षणमा लाग्न प्रेरित गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।