लमजुङ।
लमजुङको सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिताको तयारी सुरु भएको छ । हरेक वर्ष बेसीशहरस्थित त्रिवेणी युवा क्लबले आयोजना गर्दै आएको त्रिवेणी कपको ३३ औँ संस्करण पुस १२ गतेदेखि सञ्चालन हुने भएको छ ।
आयोजक त्रिवेणी युवा क्लबले शुक्रवार बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो । कार्यक्रममा क्लबका अध्यक्ष टेक जंग गुरुङले ३३ औँ त्रिवेणी कपको विजेता टिमले १२ लाख रुपैयाँ नगदसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताको उपविजेता टिमले ६ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विगतका वर्षहरुमा सेमीफाइनलमा पराजित दुई टिमलाई दिइँदै आएको पुरस्कार यस वर्ष कटौती गरिएको आयोजकले जनाएको छ । साथै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई १० हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा ६ आमन्त्रित र १० खुला गरी कुल १६ टिमको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिए । पुरस्कार राशीसहित प्रतियोगिता संचालनका लागि १ करोड ३२ लाख ३५ हजार रुपैयाँ अनुमानित खर्च सार्वजनिक गरिएको छ । जसमध्ये आमन्त्रित टिम व्यवस्थापनमा मात्रै १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यसैगरी, क्लबले पुस १५ गते तमु ल्होसारको अवसरमा ‘त्रिवेणी साँझ’ तथा सडक खाना महोत्सव आयोजना गर्ने भएको छ । बेसीशहर–७ मनाङ्गे चौतारामा आयोजना हुने उक्त कार्यक्रममा करिब २४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष टेक जंग गुरुङले सीमित स्रोत र खेल मैदानको अभावबीच पनि प्रतियोगितालाई निरन्तरता दिइँदै आएको बताए । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न देश–विदेशबाट आर्थिक सहयोग संकलन अभियानलाई प्राथमिकता दिइने क्लबका पूर्वअध्यक्ष विनोद गुरुङले जानकारी दिए। सरकारी तथा गैरसरकारी निकाय, व्यवसायिक संघसंस्था र विभिन्न संजालहरुसँग सहकार्यको अपेक्षा गरिएको उनले बताए।
क्लबका सचिव अच्युत पौडेलले उपयुक्त खेल मैदानको अभाव हुँदाहुँदै पनि जिल्लामा राष्ट्रव्यापी फुटबल प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण भए पनि व्यवस्थापन तथा आर्थिक संकलनको काम सुरु भइसकेको जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा क्लबका उपाध्यक्ष खुशीजंग गुरुङ, इन्द्रसुब्बा राना, कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका उपाध्यक्ष बसन्ता भट्ट, क्लबका पूर्वअध्यक्षहरू तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव अच्युत पौडेलले गरेका थिए ।











प्रतिक्रिया