काठमाडौं ।
उच्च अदालत पाटन परिसरमा एक युवतीले विष सेवन गरी आत्महत्या प्रयास गरेकी छन्। घटना बिहीबार भएको हो।
स्रोतका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी रहेको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि ती युवतीले आत्महत्याको प्रयास गरेकी हुन्।
यसअघि काठमाडौं जिल्ला अदालतले पनि प्रतिवादी मैनालीलाई धरौटीमा छाड्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत पाटनबाट समेत धरौटीमा रिहा हुने संकेत पाएपछि उनी अदालत परिसरमै पुगेकी थिइन्।
त्यसक्रममा युवतीले किटनाशक विषादी सेवन गरेको बताइएको छ। घटना लगत्तै अदालत परिसरमा रहेका सुरक्षाकर्मी र कर्मचारीहरूले उनलाई उद्धार गरी पाटन अस्पताल पुर्याएका थिए।
अस्पताल स्रोतका अनुसार हाल उनको उपचार भइरहेको छ र अवस्था निगरानीमा राखिएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ।











प्रतिक्रिया