२३६ आईसीटी कम्पनीमा वैदेशिक लगानी


काठमाडौं ।

वैदेशिक लगानीमा उल्लेख्य प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ३८ अर्ब ५९ करोड रुपियाँभन्दा बढी लगानीको प्रतिबद्धता आएको छ ।

समीक्षा अवधिमा कुल ४३८ वटा विदेशी लगानीसम्बन्धी परियोजना स्वीकृत भएका छन् । परियोजना सङ्ख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रले शीर्ष स्थान रहेको छ । कुल स्वीकृत परियोजनामध्ये २३६ वटा आईसीटी क्षेत्रसँग सम्बन्धित छन्, तर, आईसीटी क्षेत्रमा परियोजना सङ्ख्या धेरै भए पनि लगानी रकम भने करिब १ अर्ब रुपियाँमा सीमित छ, जसले यस क्षेत्रमा साना परियोजनाहरू बढी रहेको देखाउँछ ।

कुल परियोजना सङ्ख्याको आधाभन्दा बढी हिस्सा प्रतिनिधित्व गर्दछ । आईसीटी क्षेत्रको यो विस्तारले आगामी दिनमा नेपालको अर्थतन्त्रमा यसको योगदान अझ बढ्ने अपेक्षा गरिएको छ । यद्यपि, लगानी रकमका हिसाबले कृषि तथा वनजन्य उद्योग क्षेत्रले सबैभन्दा बढी प्रतिबद्धता आकर्षित गरेको छ । यस क्षेत्रमा मात्रै करिब २२ अर्ब रुपियाँबराबरको वैदेशिक लगानीको प्रस्ताव आएको विभागको विवरणमा उल्लेख छ । त्यसैगरी, पर्यटन क्षेत्र पनि आकर्षक देखिएको छ । पर्यटनसँग जोडिएका १३५ वटा परियोजनामार्फत १० अर्ब रुपियाँभन्दा बढी लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

क्षेत्रगत रूपमा हेर्दा, कुल परियोजना सङ्ख्याको आधारमा आईसीटी क्षेत्रले ५४ प्रतिशत, पर्यटन क्षेत्रले ३१ प्रतिशत, सेवा क्षेत्रले ६ प्रतिशत, उत्पादन क्षेत्रले ६ प्रतिशत र कृषि क्षेत्रले ३ प्रतिशत हिस्सा ओगटेको छ ।
परियोजनाको आकारका आधारमा ४३८ उद्योगमध्ये अधिकांश साना रहेका छन् । ४२३ वटा साना, ८ वटा मझौला र मात्र ७ वटा ठूला उद्योगमा वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । यसले नेपालमा वैदेशिक लगानीकर्ताहरू साना तथा मझौला परियोजनातर्फ बढी आकर्षित भएको संकेत गर्दछ ।

मङ्सिर महिनामा मात्रै ५६ वटा उद्योगमा करिब १ अर्ब ९१ करोड रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यीमध्ये अधिकांश साना उद्योग रहेका छन् । यसै अवधिमा विदेशी लगानीकर्ताहरूले रोयल्टीबापत १ अर्ब ६२ करोड रुपियाँभन्दा बढी रकम फिर्ता लैजानका लागि उद्योग विभागबाट स्वीकृति प्राप्त गरेका छन् । उद्योग विभागका अधिकारीहरूका अनुसार, यो तथ्याङ्कले नेपालको लगानी वातावरण सुधारोन्मुख रहेको देखाउँछ । तथापि, ठूला परियोजनाहरू आकर्षित गर्नका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको विज्ञहरू बताउँछन् । वैदेशिक लगानीको यो प्रवृत्तिले मुलुकको आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।