स्वदेशी काठको प्रयोग बढाउन आग्रह


काठमाडौं ।

वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले सरकारी पूर्वाधार संरचनामा काठलगायत स्वदेशी निर्र्माण सामग्री प्रयोग बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार ललितपुरमा नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले वन मन्त्रालयमै स्वदेशी काठ नभई आयातित निर्माण सामग्री प्रयोग गरिएको पाइएको बताउनुभयो ।

नेपाल वन पैदावार महासंघका अध्यक्ष दिनेशराज रेग्मीले ‘हरियो वन नेपालको धन’ भनिए पनि नीतिगत अवरोधका कारण हरियो वन नेपालको धन बन्न नसकेको बताउनुभयो । नीतिगत कडाइले जङ्गलमा काठ त्यत्तिकै खेर गइरहेको र विदेशबाट काठ तथा फर्निचरहरू आयात गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । अध्यक्ष रेग्मीले भन्नुभयो‘नेपाल झण्डै ४६ प्रतिशत वन क्षेत्र छ तर आयातित काठ र फर्निचरहरू प्रयोग भइरहेको छ । वनलाई व्यापारमा मात्रै सीमित गर्दा हामी वनजन्य उत्पादनमा आत्मनिर्भर हुन सकेनौं ।

सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुरप्रसाद भण्डारी, नेपाल प्लाइउड उद्योग संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका समदस्य शिवप्रसाद घिमिरेलगायतले पनि वन विद्यमान वन नीति नेपालको अर्थतन्त्र र विकासविरुद्ध रहेको भन्दै व्यापक नीतिगत सुधारको आवश्यकता औंल्याएका थिए ।