काठमाडौं महानगरको अन्तिम लेखापरीक्षण सुरु


काठमाडौं ।

काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८१|८२ को अन्तिम लेखापरीक्षण सुरु भएको छ । महालेखापरीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरेको नेतृत्वमा खटिएको टोलीले लेखापरीक्षण सुरु गरेको हो ।

लेखापरीक्षण अघि भएको बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले विवरण, आधार, प्रमाण तथा कारण समयमै उपलब्ध नगराउँदा बेरुजु बढ्ने जोखिम रहने उल्लेख गर्दै सबै विभागीय प्रमुखलाई स्पष्ट जानकारी र आवश्यक कागजात तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।

त्यस्तै प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले महानगरपालिकाको संगठन संरचना, दरबन्दी, सेवा विस्तारसँग सम्बन्धित जनशक्ति व्यवस्थापन, जारी गरिएका कानुन, अधिकार प्रत्यायोजनको अवस्था तथा वित्तीय सुशासनका लागि अपनाइएका आन्तरिक नियन्त्रण प्रणालीबारे जानकारी गराउनुभयो । महालेखापरीक्षकको कार्यालयका निर्देशक घिमिरेले अन्तिम लेखा परीक्षणसँगै समपरीक्षण पनि सँगसँगै गर्ने योजना रहेको जानकारी दिँदै यसले विगतका बेरुजु घटाउने सम्भावना रहेको बताउनुभयो ।

आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेका अनुसार महानगरपालिकाको केन्द्र, ३२ वटा वडा, हनुमानढोका दरबार संरक्षण कार्यक्रम तथा जग्गा एकीकरण आयोजना गरी कुल ३५ एकाइको छुट्टाछुट्टै परीक्षणबाट प्रारम्भिक प्रतिवेदन तयार गरिनेछ ।

न्यौपानेका अनुसार गत आर्थिक वर्षमा विनियोजित २५ अर्ब ८६ करोड ५२ लाख रुपियाँमध्ये ५२.१२ प्रतिशत अर्थात् १३ अर्ब ३ करोड ६९ लाख १३ हजार रुपियाँ खर्च भएको छ। यसमध्ये चालुतर्फ ६ अर्ब २२ करोड ९० लाख १६ हजार रुपियाँ पुँजीगततर्फ ६ अर्ब ७३ करोड ७८ लाख ९६ हजार रुपियाँ तथा वित्तीय खर्चतर्फ करिब ७ करोड रुपियाँ खर्च भएको छ ।

क्षेत्रगत खर्च विवरणअनुसार आर्थिक विकास क्षेत्रमा ३७.६७ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ४७.९१ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा ५२.५२ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २८.८८ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ७७.०२ प्रतिशत खर्च भएको महानगरपालिकाले जनाएको छ।