काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई विदेशबाट पटक–पटक ज्यान मार्ने धम्की दिने उग्रवादी समूहका नाइके भनिएका प्रकाश पाठक फिलिपिन्सको राजधानी मनिलामा प्रहरीको घेराबन्दीमा परेका छन्। ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ नामक समूहले गत मंसिर दोस्रो साता राईलाई १० दिनको अल्टिमेटम दिँदै हत्या गर्ने धम्की दिएको थियो।
उच्च सुरक्षा स्रोतका अनुसार हाल मनिलामा रहेका पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा फिलिपिनो प्रहरीले निगरानी तथा नियन्त्रणमा राखेको छ। पाठकलाई नेपाल ल्याएर कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको र त्यसका लागि नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जाने तयारीमा रहेको स्रोतले जनाएको छ। प्रहरीका अनुसार पाठक पक्राउ परेपछि हस्तान्तरण प्रक्रिया पूरा गर्न कम्तीमा दुई दिन लाग्नेछ।
मनिला पुग्न दुई दिन, फर्कन दुई दिन र औपचारिक हस्तान्तरणमा दुई दिन लाग्ने भएकाले सम्पूर्ण प्रक्रिया करिब एक साताभित्र टुंगिने अनुमान गरिएको छ। यसअघि अख्तियारको आधिकारिक इमेलमा ‘ईजिएन’ समूहको तर्फबाट पठाइएको धम्कीपूर्ण सन्देशमा १० जनाको हत्या गर्ने योजना बनाइएको उल्लेख गरिएको थियो, जसमा प्रमुख आयुक्त राईको नाम पनि सूचीकृत गरिएको थियो। इमेलमा लेखिएको थियो, “हामीले १० जनाको हत्या गर्ने निर्णय गरेका छौँ, त्यसमा तपाईंको नाम पनि छ। १० दिनभित्र राजीनामा दिनुहोला, अन्यथा यो अवधिमा आफ्नो अन्तिम इच्छा पूरा गर्न सक्नुहुन्छ।
” आफूलाई संगठन प्रमुख बताउने प्रकाश पाठकद्वारा हस्ताक्षरित अर्को पत्रमा ‘हत्या प्रत्यक्ष रूपमा आफूहरूले नगरी फरार कैदीहरू प्रयोग गरिने र त्यसको आर्थिक सहयोग समूहले गर्ने’ उल्लेख गरिएको थियो। घटनाको जिम्मेवारी भने समूहले नै लिने दाबी गरिएको छ। पाठकले सोही आशयको धम्की सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देशमा पनि दिएका थिए। प्रहरीले त्यतिबेलै धम्की दिने समूहको पहिचान भइसकेको र उनीहरूको लोकेसन ट्रयाक भइरहेको जनाएको थियो।
सोही क्रममा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको उक्साहटमा पाठक समूहले विदेशबाट धम्की दिएको हुनसक्ने कोणबाट पनि अनुसन्धान अघि बढाइएको थियो। त्यसको केही दिनपछि नै अधिकारी अख्तियारद्वारा भ्रष्टाचार प्रकरणमा पक्राउ परिसकेका छन्। प्रहरी स्रोतका अनुसार अधिकारीमाथि यसअघि पनि ‘जेन–जी’ युवाको समूह प्रयोग गरी आफू प्रतिकूल ठानिएका व्यक्तिहरूलाई धम्क्याउन लगाएको आरोप लाग्दै आएको थियो।
यसैबीच, प्रकाश पाठकले पछिल्लो पटक फेरि प्रमुख आयुक्त राईलाई धम्क्याउँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पक्राउ नगरिएको विषयमा रोष प्रकट गरेका थिए। उनले पठाएको सन्देशमा भनिएको थियो, “अहिले तपाईं सुरक्षा घेरामा हुनुहुन्छ। माधव नेपाललाई दुई दिनभित्र पक्रेर जेल नहालेमा तपाईंको परिवारका सदस्यहरूलाई सिध्याउन हाम्रा सुटरहरू रेडी छन्। उनीहरूले फलो गरिरहेका छन्।” प्रहरीले यो विषयलाई उच्च संवेदनशीलताका साथ अनुसन्धान गरिरहेको र सम्बन्धित सबै कोणबाट तथ्य संकलन भइरहेको जनाएको छ।











प्रतिक्रिया