धैर्य गर्न के–केको आवश्यकता पर्छ ? एउटा कुरा त हामीभित्र शान्ति हुनुपर्छ । किनभने, शान्तिविना मानिसमा धैर्यता हुन सक्दैन । मानिसमा परीक्षण गर्ने चीज हुनुपर्छ । फलतः मानिस जुनसुकै परिस्थितिमा रहेर पनि उसलाई के थाहा होस् भने यो परिस्थिति पनि समाप्त हुनेछ । अवस्था चाहे जस्तोसुकै होस् ।
यो संसारमा कुनै पनि चीज स्थायी हुन सक्दैन । हरेक चीज बदलिन्छ । राम्रो समय छ भने त्यो पनि बित्नेछ । खराब समय छ भने त्यो पनि बित्नेछ । मानिसलाई खराब समयमा के कुरा बोध हुनुपर्छ भने यो समय पनि जानेछ । बुद्धिमान् त्यो व्यक्ति हो जसलाई राम्रो समयमा पनि यो सधैँ रहँदैन भन्ने कुरा थाहा हुन्छ । त्यसो हो भने राम्रो समय के हो अनि खराब समय के हो त ? इच्छा अनुकूल सबै कुरा हुन्छ भने मानिसले उक्त समयलाई राम्रो मान्छ अनि आफ्नो इच्छा अनुकूल नभएपछि उसले त्यसलाई खराब समय मान्छ । जबसम्म यो श्वास हामीभित्र आइरहन्छ अनि गइरहन्छ तबसम्म त्यो हाम्रो समय राम्रो समय हो ।
यो प्राप्त भएको मानिसको शरीर एकदमै दुर्लभ छ । तथापि, मानिस कहिले यता त कहिले उता दौडनका लागि तयार हुन्छ । किनभने, एउटा रेडियो बाहिर बजिरहन्छ अनि अर्को रेडियो कानका बीचमा बजिरहन्छ अनि रातदिन त्यो रेडियो बजिरहन्छ । कसैले भन्छन्– ‘मैले यसो गर्नुपर्छ, मैले उसो गर्नुपर्छ अनि म आफ्नो नाम कमाउन चाहन्छु ।’ जब एकदिन पृथ्वी नै रहँदैन, चन्द्रमा नै रहँदैन, सूर्य नै रहँदैन, एकदिन केही पनि रहँदैन अनि यो सबै समाप्त हुने नै छ भने हामी नाम कमाउनका पछाडि किन लागेका छौँ !
एउटा चीज के हो भने जुन थियो, छ अनि रहनेछ । मानिस एउटा समयमा थिएन । अहिले छ अनि एउटा यस्तो समय पनि आउनेछ मानिस रहनेछैन । एउटा सत्य के हो भने, त्यो समय आउनेछ तर यो कसैलाई थाहा छैन । त्यसैले यो समयमा एक–अर्कालाई माया गर्नु आवश्यक छ । एउटा मानिसले अर्को मानिसलाई यदि केही दिन सक्दैन भने केवल माया त गर्न सक्छ नि ! एक–आपसमा रिसाउनु वा एक–अर्कालाई तनाव दिनु आवश्यक छैन । माया, केवल माया नै गर्नु आवश्यक छ । यसलाई मानिसले एक–अर्कामा बाँड्न सक्छन् ।
एउटा सानो उदाहरण छ । एकजना सानो केटा थिए । उनका आमाबुबा निकै धनी थिए तर उनी मानसिक रोगी थिए । उनलाई केही नराम्रो हुनेबित्तिकै उनले आफूले आफूलाई नै टोक्ने गर्थे । उनीसँग कुरा गर्न पनि सकिँदैन थियो । उनलाई कलम र बोतल जम्मा गर्ने एकदमै सोख थियो । उनी जहाँ गए पनि कलम र बोतल बटुल्ने, जम्मा गर्ने गर्थे । उनी आफ्नो गोजीमा एकदमै धेरै कलम राख्ने गर्थे । एकदिन उनी आफन्तकहाँ बस्नका लागि गए । तिनको अवस्था देखेपछि बिस्तारै–बिस्तारै घरका मानिसहरूमा उनीप्रति दया जाग्न थाल्यो अनि सबैजनाले उनलाई माया गर्न पनि थाले । तथापि, उनी निकै क्रोधित मुद्रामा रहन्थे । कसैले उनीसँग कलम माग्नेबित्तिकै उनी रिसाइहाल्थे अनि आफूले आफूलाई नै टोक्न थाल्थे । तथापि, उनले मानिसहरूबाट आदर र प्रेम प्राप्त गर्न थालेपछि उनले कलम र बोतल बटुल्ने बानीलाई छोड्दै गए ।
उनको व्यवहारमा कतिसम्म परिवर्तन भयो भने यदि उनले कतै बोतल पाए पनि उनी त्यो चीज जसलाई पनि दिनका लागि तयार हुन्थे । एउटा समय त कस्तो थियो भने उनी कसैलाई आफ्नो चीज दिनका लागि तयार हुँदैन थिए । यदि कसैले बोतललाई यताबाट उता राखिदियो भने पनि उनी चिच्याउने गर्थे । तथापि, उनलाई प्रेम, आदर अनि स्नेह प्राप्त हुँदै गएपछि उनलाई ती कलम र बोतल राखिरहनुपर्ने आवश्यकता नै परेन ।
हामी परिवारमा एक–अर्कालाई किन माया गर्दैनौँ ! एक–अर्कालाई किन कटु वचन बोल्छौँ ! आपसी झगडाका लागि किन तम्सिरहन्छौँ ? एक–अर्काको खराबीलाई किन हेर्छौँ, राम्रोपनलाई किन हेर्दैनौँ । एक–अर्कालाई मायाको आवश्यकता पर्दछ । धैर्यताको आवश्यकता पर्दछ अनि यदि धैर्यता छैन भने संसारमा केही न केही गडबड अवश्य हुन्छ नै । अहिले धैर्यताको समय आएको छ । हिम्मतको समय आएको छ । मानिसमा साँचो हिम्मत हुनुपर्ने समय आएको छ, किनकि यतिखेर अरू कुनै पनि चीज काम लाग्दैनन् ।
हिम्मत राख्नुको अर्थ के हो भने जति पनि मानिस छन् तिनले भ्रम तथा अफवाहलाई नसुनून् । सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने मानिसले त्यो कुरा सुन्नुपर्छ जसबाट उसको भलाइ होओस् तर मानिसहरू यस कुरालाई बिर्सन्छन् । भ्रमित तुल्याउनेहरूको कमी छैन तर हामीले भ्रमित हुनु आवश्यक छैन ।
हिम्मत बढाउनुहोस् । परिस्थिति जस्तो छ त्यस्तै छ तर योभन्दा माथि रहेर अघि बढ्ने आधार त हिम्मत नै हो । अहिलेको मानिसलाई सहानुभूति चाहिन्छ अनि हिम्मत पनि चाहिन्छ, किनभने सधैँ अघि बढ्नुपर्छ, पछाडि होइन । राम्रो समयमा अघि बढ्नुपर्छ । खराब समयमा पनि अघि बढ्ने नै हो अनि अघि बढ्ने शक्ति हामीलाई कहाँबाट प्राप्त हुन्छ ! हामी हिम्मतको शक्ति कहाँबाट पाउँछौँ ! यो कुनै पहाडमाथि छैन ।
यो कुनै रुखमाथि पनि हुने होइन । यो हामीभित्रै छ । तपाईंलाई सहायता गर्ने व्यक्ति, तपाईंका हितैषी पनि तपाईंभित्रै बसेका छन् । यो समयमा प्रकाशको आवश्यकता छ, अँध्यारोको होइन । प्रकाशले तपाईंलाई जुन चीजबाट बच्ने हो त्यस चीजलाई कहाँ छ भनेर देखाइदिन्छ । आफ्नो जीवनलाई सफल पार्नुहोस् । हिम्मत बढाउनुहोस्, अघि बढ्नुहोस् किनकि यो तपाईंको प्रकृति हो । तपाईं आउनुभएको छ अनि एकदिन तपाईंले जानुपर्छ । कहिले जानुपर्छ भन्ने कुरा तपाईंलाई थाहा छैन । वास्तवमा तपाईं जबसम्म जीवित रहनुहुन्छ तबसम्म भित्रबाट जिउनुहोस्, बाहिरबाट होइन । किनभने, तपाईंलाई यी कुराको आवश्यकता पर्दछ । हिम्मतको आवश्यकता पर्दछ ।
तपाईंभित्र भएको शान्तिलाई बाहिर आउन दिनुहोस् । जस्तो होलीको समयमा शरीरमा पानी परेपछि मानिस पानीले भिज्छ त्यसरी नै त्यो शान्तिलाई आफूभित्र बर्सन दिनुहोस् । अनि, शान्तिको रङ्गमा आफूलाई रङ्गिन दिनुहोस् । जुन तपाईंभित्रको आनन्द छ चाहे जेसुकै भए पनि त्यसलाई नभुल्नुहोस् ।
एकजना मानिस रेल्वे स्टेसन, बसपार्कहरूमा मानिसहरूको जुत्ता पालिस गर्ने काम गर्दथे । तर, उनी खुशी थिएनन् । धनी बन्न चाहन्थे । अनि, उनले अर्कै काम खोजे । बिस्तारै–बिस्तारै कमाउन शुरु गरे । अन्ततः उनी सबैभन्दा धेरै धनी व्यक्ति पो बने । उनी आनन्दमय जीवन जिउन थाले । एकदिन उनकी श्रीमती बितिन् । त्यसपछि उनको मनमा ठूलो वज्रपात प¥यो । उनी सोचमग्न भए, ‘अब के गर्ने होला ?’ मानिसहरूले भने– ‘चिन्ता नगर, सबै राम्रो हुन्छ ।’ केही महिनापछि नै उनले अर्को विवाह गरे । त्यसपछि उनको जीवन आनन्दका साथ बितिरहेको थियो ।
एकदिन उनी निकै अस्वस्थ भए । उनलाई अस्पताल लगियो । त्यहाँ उनी अन्तिम श्वास लिइरहेका थिए– एकजना यस्ता मानिस जो एकदमै धनी थिए । जीवनभर उनले प्रशस्तै पैसा कमाए । तथापि, उनी अस्पतालमा सुतिरहेका थिए, श्वासको मेसिन (भेन्टिलेटर) जडान गरिएको थियो अनि त्यसकै माध्यमबाट श्वास लिइरहेका थिए । उनी निकै कमजोर भएका थिए । उनको खानपिनसमेत बन्द भइसकेको थियो । पैसा, घर, व्यापार, उनका लागि अब कुनै पनि चीजको औचित्य रहेन ।
भनाइको अर्थ ती सबै चीजहरू, हामीलाई काम लाग्ने चीजहरू हुन् भनेर हामी सोच्छौँ । कुनै पनि चीज अन्तिम अवस्थामा काम लाग्दैन । तपाईंभित्र रहेको चीज जसमा तपाईं ध्यान केन्द्रित गर्नुहुन्छ, त्यही चीज नै काम लाग्छ । जुन तपाईंको शक्ति हो कमजोरी होइन । तपाईंका शक्तिहरू नै काम लाग्नेछन् । तिनमा ध्यान दिनुहोस् । तिनीहरू आज पनि काम लाग्नेछन् । चाहे जस्तोसुकै परिस्थिति होओस्, जस्तोसुकै दुःख झेल्नु परोस् ।
कुनै पनि परिस्थितिबाट अघि बढ्नुपरोस्– ती शक्तिहरू हामीभित्रै छन् । तिनै शक्तिले नै हामीलाई अघि बढ्न हिम्मत प्रदान गर्छन् । तपाईंभित्र राम्रोपना छ । तपाईंभित्र प्रकाश छ । चाहे बाहिर जतिसुकै अँध्यारो नै किन नहोस् । त्यो प्रकाशलाई प्रकाश छर्न दिनुहोस् । त्यो राम्रोपनालाई उजागर हुन दिनुहोस् । त्यो असलपनालाई आफ्नो जीवनमा एउटा यस्तो प्रेरणाको स्रोत बनाउनुहोस् जसमा तपाईं विश्वास गर्न सक्नुहोस् ।
तपाईं नै आफ्नो परिस्थितिको निर्माता हुनुहुन्छ । यो तपाईंमाथि नै निर्भर रहन्छ– तपाईं आफ्ना लागि स्वर्ग पनि निर्माण गर्न सक्नुहुन्छ अनि नर्क पनि । मेरो सुझाव के छ भने– आफ्ना लागि स्वर्ग बनाउनुहोस् । त्यसको स्थापना गर्नुहोस् अनि आनन्द लिनुहोस् । किनभने, यो श्वास आउँछ अनि जान्छ । यसका लागि हामीले इच्छा व्यक्त गर्नुपर्दैन । यसका लागि कुनै बटनलाई थिच्नुपर्दैन । श्वास तपाईंभित्र आइरहेको छ अनि गइरहेको छ । यो सबैभन्दा ठूलो कृपा हो । यसले एउटा नयाँ आशा, नवीन सोचका साथ हरेक दिन एउटा नयाँ बिहानी लिएर आउँछ । संसारमा योभन्दा ठूलो खुशीको खबर अरू केही पनि छैन । एउटा नवीन सोचले हामीलाई जिन्दगीमा सकारात्मक तरिकाबाट जिउनका लागि सहयोग पुग्दछ ।
कुरा त यो समयमा ध्यानपूर्वक काम गर्ने बारेमा हो । तपाईं जीवित हुनुहुन्छ । आफ्नो ध्यान त्यस चीजमा लगाउनुहोस् जसबाट तपाईंको हृदयमा आनन्द आओस् । तपाईंको जीवनमा खुशी प्राप्त होस् । तपाईंलाई यो संसारको सुख पनि प्राप्त हुन सक्छ । तर, तपाईंलाई संसारको सुख प्राप्त भइरहँदा शान्ति पनि प्राप्त हुन्छ भन्ने पनि होइन । कुनै बेला त कस्तो हुन्छ भने तपाईंलाई संसारको सुख प्राप्त भइरहेको छ तर शान्ति प्राप्त हुँदैन । शान्ति अनुभूत भएपछि मानिसलाई एउटा यस्तो सुख प्राप्त हुन्छ, ऊ यस्तो सुखी हुन्छ जसलाई ‘ऊ किन सुखी छ’ भनेर यो संसारले बुझ्नै सक्दैन । तपाईंसँग जागिर छ, तपाईंसँग परिवार छ । तर, यी सबै कुरा भएर पनि मानिस सुखी नै हुन्छ भन्नेचाहिँ होइन ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)











प्रतिक्रिया