कित्ताकाट खुलेपछि घरजग्गा कारोबार बढ्यो


काठमाडौं ।

घरजग्गा कारोबार, कित्ताकाट तथा यसबाट सङ्कलन हुने राजस्व निरन्तर घट्दै आएकोमा मङ्सिरमा भने एक्कासी उछाल आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मङ्सिर महिनामा देशभर १ लाख ८ हजार ८९९ पटक घरजग्गा कारोबार भएको छ । तीमध्ये ५१ हजार ६३२ पटक लिखत पारित भएको छ । अघिल्लो वर्ष २०८१ को मङ्सिरमा १ लाख २८ हजार ३८२ पटक कारोबार हुँदा ४३ हजार ३७९ पटक मात्र लिखत पारित भएको थियो ।

यस आधारमा २०८२ को मङ्सिरमा घरजग्गा कारोबार सङ्ख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा करिब २३.७७ प्रतिशतले वृद्धि भएको देखिन्छ । अघिल्लो महिना कात्तिकको तुलनामा भने मङ्सिरमा कारोबार ८२ प्रतिशतले बढेको विभागको तथ्याङ्कले देखाएको छ । मङ्सिरमा ५५ हजार १५५ वटा जग्गा टुक्रा कित्ताकाट गरी १ लाख २१ हजार ६१८ कित्तामा विभाजन गरिएको छ ।

अघिल्लो वर्षको मङ्सिरमा ४६ हजार २९६ जग्गा टुक्रा कित्ताकाट गरी १ लाख १ हजार ७४१ कित्तामा विभाजन गरिएको थियो । कारोबार बढेसँगै राजस्व सङ्कलनमा पनि उल्लेख्य सुधार आएको छ । गत वर्ष मङ्सिरमा घरजग्गाबाट ३ अर्ब ८७ करोड ४८ लाख रुपियाँ राजस्व संकलन भएकोमा यस वर्षको मङ्सिरमा ४ अर्ब ८४ करोड ८१ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा २५.११ प्रतिशतले बढी हो ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर तथा पुँजीगत लाभकरलगायत शीर्षकमा राजस्व प्राप्त हुने गर्दछ, जसमा सबैभन्दा ठूलो हिस्सा रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकरको रहने गर्दछ । मङ्सिरको कारोबार यस आर्थिक वर्षकै उच्च रहेको विभागले जनाएको छ । घरजग्गा कारोबारमा आएको सुधारको मुख्य कारण सरकारले कित्ताकाट खुलाउनु नै भएको सरोकारवालाहरू बताउँछन् ।

सरकारले २०८२ असार मसान्तदेखि कित्ताकाट रोक्का गरेको थियो, जसका कारण घरजग्गा कारोबारसँगै राजस्व सङ्कलनमा समेत ठूलो गिरावट आएको थियो । तर, गत कात्तिक महिनाको अन्तिम साताबाट सरकारले आगामी २०८२ असार मसान्तसम्मका लागि कित्ताकाट खुला गरेपछि यसको सकारात्मक प्रभाव तत्काल देखिन थालेको हो । सरकारले भू–उपयोग नियमावली २०७९ लाई तेस्रो पटक संशोधन गर्दै २०८२ असारसम्मका लागि कित्ताकाट खुला गरेको हो ।