एमाले नेतृत्वको मतगणना सुरु, प्रारम्भिक नतिजा केही घण्टाभित्र अपेक्षित


काठमाडौँ ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । सबै भोटिङ मेसिनबाट चिप्स निकालेर एकत्रित गरेपछि मतगणनाको प्रक्रिया अघि बढाइएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका एक सदस्यका अनुसार मतगणनाको प्रारम्भिक नतिजा ३ देखि साढे ३ घण्टाभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ । मतगणनाका क्रममा चरण–चरणमा अपडेट सार्वजनिक गरिने पनि समितिले जानकारी दिएको छ ।

एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ जना उम्मेदवार मैदानमा रहेका छन् । कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन् ।

एमालेको भावी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल नेतृत्वको प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ । मतगणनाको नतिजासँगै पार्टीको नयाँ शक्ति सन्तुलन कस्तो हुने भन्ने विषयमा चासो बढेको छ ।