काठमाडौं ।
सरकारले जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ ।
भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको म्याद यही पुस ९ गते सकिनेमा थप एक महिनापछि सकिँदै छ । गत असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोग गठन गरेको थियो । यस अवस्थामा आयोगको काम नसकिएको भन्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुधबार भेटेर म्याद थपका लागि आग्रह गर्नुभएको थियो । पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने बताउनुभयो ।
भेटका क्रममा आयोगले कार्यादेश थपिएको विषयमा कुराकानी गरेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले बताउनुभयो । ‘आयोगको म्याद सकिन लाग्यो । काम अझै बाँकी छ । हामी प्रधानमन्त्रीज्यूसँग त्यही कुराकानी गर्न आएको हौं । एक महिना म्याद थप्नुपर्छ । समय पुगेको छैन । के गर्ने भन्दाखेरि २ हप्ता बढी त बिदा नै भयो । प्रहरीले एक महिनासम्म लिस्ट पठाएन । त्यसकारण काम गर्न ढिलाइ भयो । प्रधानमन्त्रीज्यूले प्रस्ताव पठाउनु, थपिदिन्छु भन्नुभएको छ’ –अध्यक्ष कार्कीले भन्नुभयो ।
छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष कार्कीले एक महिना थपका लागि अनुरोध गरिएको बताउनुभयो । त्यसै गरी सरकारले हालै आयोगको कार्यादेश थपेकोमा त्यस विषयमा पछि छलफल भएको बताइएको छ । जेन–जीसँग भएका सहमतिअनुसार सरकारले आन्दोलनका क्रममा भएको गैरन्यायिक हत्यालगायतका मानव अधिकार उल्लंघनसम्बन्धी आरोपहरूको बिना विभेद छानबिन गरी सत्य तथ्य खोज गरी फौजदारी जवाफदेहिता वहन गर्न सिफारिस गर्ने, हिंसात्मक कार्यहरूको विभेदलाई पूर्वाग्रहरहित रूपमा छुट्याई छानबिन गरी प्रतिवेदन पेस गर्नेलगायत कार्यादेश थप गरिएको थियो ।











प्रतिक्रिया