काठमाडौं ।
ठेक्का सम्झौता गरेपछि काम नगरी लामो समयदेखि सिँचाइ आयोजनालाई अलपत्र पार्दै आएका २२ वटा रुग्ण ठेक्का तोडिएको छ । तोडिएका ठेक्काहरूको कुल सम्झौता रकम १४ अर्ब २३ करोड रुपियाँ रहेको छ ।
तोडिएका ठेक्कामध्ये बबई सिँचाइ आयोजनाका ६ वटा, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधाम (धनुषा) अन्तर्गतका १५ वटा र सुनकोशी–मरिन डाइभर्सन आयोजनाको १ वटा ठेक्का रहेका छन् । भेरी–बबई आयोजनाअन्तर्गत करिब १ करोड ७६ लाख रुपियाँ बराबरको ठेक्का र जनकपुरधाम कार्यालयअन्तर्गत १३ करोड १७ लाख रुपियाँ बराबरका ठेक्का तोडिएको छ ।
जलस्रोत तथा सिँचाइ विभागका अनुसार हाल विभागअन्तर्गत २१५ वटा चालु ठेक्का रहेका छन्, जसमध्ये ३३ वटा ठेक्का समस्याग्रस्त सूचीमा छन् । समस्याग्रस्त ठेक्कामध्ये हालसम्म २२ वटा ठेक्का तोडिएको विभागले जनाएको छ ।
सिँचाइतर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरवको आयोजना मानिएको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको रहेको छ ।
आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना निर्माण, गेटसहितका हाइड्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभी, जनकपुर–९, धनुषासँग गरिएको ठेक्का सम्झौता रद्द गरिएको हो ।
उक्त आयोजनाका लागि पटेल–रमण जेभीसँग करसहित १४ अर्ब ८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार काम अघि नबढेपछि ठेक्का तोड्ने निर्णय गरिएको विभागले जनाएको छ ।











प्रतिक्रिया