उदयपुर ।
उदयपुरको गाईघाट स्थित बोक्से पिपलटारमा रहेको नेपाली सेनाको पशुपती प्रसाद गणको आयोजनामा पौष २१ देखि २७ गतेसम्म उदयपुरको ऐतिहासिक उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पदयात्रा संचालन गरिने भएको छ । अघिल्लो बर्षदेखि सुरु भएको पदयात्रालाई यस बर्ष पनि निरन्तरता दिने उद्देश्यका साथ पद यात्रा संचालन गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।
पदयात्रा संचालनको लागि मंगलबार प्रारम्भीक चरणमा सरोकारवालाहरुसँग सेनाले समन्वय बैठक सम्पन्न गरेको छ ।
ऐतिहासिक गढी किल्लाहरुको संरक्षणमा जुट्दै आएको सेनाले अघिल्लो बर्ष तत्कालिन गणपती प्रमुख सेनानी शिव वाग्लेको कार्यकालमा सुरु गरेको अभियानलाई निरन्तरता दिन लागेको हो ।पौष २१ मा उदयपुरगढीबाट सुरु भएर २७ गते चौदण्डीगढीमा सम्पन्न हुने पद यात्राको क्रममा सेनाले विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना राखेको छ ।
ऐतिहासिक गढीको संरक्षण, पर्या पर्यटनको विकास र नयाँ पुस्तालाई इतिहास, भुगोल र नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सेनाले पदयात्रा संचालन गर्न लागिएको नेपाली सेनाका पशुपती प्रसाद गणका गणपती प्रमुख सेनानी मनोज कार्कीले जानकारी दिनु भयो ।पदयात्राको उदयपुरको उदयपुरगढी गाउँपालिकाबाट सुरु भएर उदयपुरगढीको डुम्रे, डुम्रे भन्ज्याङ, दुवारे भन्ज्याङ, रौतामाई गाउँपालिकाको रानिवास, त्रियुगा नगरपालिकाको साउने, चौदण्डीगढी नगरपालिकाको विरेन्द्र बजार हुदै चौदण्ीडगढीमा पुगेर समापन हुने छ ।
७ दिन लामो यात्राको क्रममा सो क्षेत्रमा पर्ने विद्यालयहरुमा विभिन्न प्रतियोगीतात्मक कविता, निवन्ध, हाजिरीजवाफ लगायतका कार्यक्रमहरु संचालन गर्ने र सो को व्यवस्थापन र सहयोग स्थानिय पालिकाहरुले गर्ने योजना रहेको छ । सेनाको पशुपती प्रसाद गणमा मंगलबार सम्पन्न समन्व बैठकमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, उदयपुरगढी गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्का, रौतामाई गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बहादुर थापा, सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल, होटल तथा पर्यटन व्यवसायी, साईकलिङ संघ, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
पद यात्रालाई थप आकर्षण बनाउनको लागि नेपाली सेनाको ऐतिहासक कालो पोसाकका सैनिकहरुलाई समेत सहभागीता गराउने योजना रहेका प्रमुख सेनानी कार्कीले जानकारी दिनु भयो । पदयात्रामा नेपाली सेनासँगै सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार, स्थानिय नागरिक लगायतलाई सहभागी भएर पदयात्रा सफल बनाउनको लागि सेनाले आग्रह समेत गरेको छ । पदयात्रालाई थप व्यवस्थित गर्नका लागि विभिन्न चरणमा बैठक तथा प्रचार प्रसारको कार्य अघि बढाईने जनाईएको छ । २१ गते उदयपुरगढीबाट सुरु हुने पद यात्रा पौष २७ गते राष्ट्रिय एकता दिवशको अबसर पारेर चौदण्ीडगढीमा पुगेर समापन गरिने छ ।












प्रतिक्रिया