फ्रेन्डसीप तेक्वान्दोमा २ सय २२ स्वर्ण


काठमाडौं ।

आईओएफटीसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आईओएफटीसी) मा कूल २ सय २२ स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको छ ।

दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आगामी शुक्रबार र शनिबार हुने यस प्रतियोगितामा २ सय २२ नै रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै, कांस्य पदक भने ४ सय ४४ को संख्यामा हुनेछ ।

आईओएफटीसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दोको आयोजना भएको हो । अहिले १५ औँ संस्करणसम्म आइपुग्दा यसको आकार बृहत भइसकेको छ ।’ उनले बताए ।

अमेरिकाको पोर्टल्यान्डस्थित आईओएफटीसीले प्रत्येक दुई वर्षमा यस प्रतियोगिता आयोजना गर्दै आएको छ । पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिकाबाहिर गर्दै आएको छ ।

जसअनुसार प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत, हङकङ, अमेरिकाकै मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।
प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले च्याम्पियन्सीपमा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिको, माल्दिभ्स, बङगलादेशलगायतका राष्ट्रहरूका खेलाडीको सहभागिता रहने जानकारी दिए ।

वल्र्ड तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने यस प्रतियोगितामा क्यारुगी (फाइट) र पुम्से (फर्म) दुवै विधा समावेश गरिएको छ । सिनियर पुरुष र महिलाको समान ८–८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुषतर्फ १०–१० तौल समूहमा खेलाइनेछ भने क्याडेट वर्गमा पनि १०–१० तौल समूहमा खेलाइनेछ ।
सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरिएको छ । बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ ।

प्रतियोगितामा विजेताका साथै उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख २५ हजार रुपियाँ रहेको छ ।