अब काठमाडौं प्रशासनमा डिजिटल गभर्नेन्सअन्तर्गत स्मार्ट सेवा

पब्लिक अनाउन्समेन्ट सिस्टम (पीएएस) छिट्टै लागू हुने


–टोकनबाट हुन्छ सबै काम, सेवाग्राहीलाई सुविधैसुविधा
–लाइन लाग्न नपर्ने र भीडको व्यवस्थापन हुने
–सेवाग्राहीसँगै कर्मचारीहरू स्कर्टिङमा खटिने

काठमाडौं ।

काठमाडौंलगायत देशभरका सबैभन्दा बढी सेवाग्राहीहरू आउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले अब सेवाग्राहीलाई स्मार्ट सेवा प्रदान गर्ने र छोटो समयमा नै काम सम्पन्न गर्ने गरी नयाँ सेवा प्रणाली लागू गर्ने गृहकार्य अघि बढाएको छ । दैनिक हजारौं सेवाग्राहीहरूले निकै दुःख, कष्ट र झन्झट व्यहोर्नु परेपछि काठमाडौं प्रशासनले सेवाग्राहीलाई लक्षित गरी सहज र प्रभावकारी सेवा दिन ‘पब्लिक अनाउन्समेन्ट सिस्टम’ (पीएएस) लागू गर्ने अन्तिम तयारी थालेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ‘जनता पहिलो’ भन्ने सिद्धान्तअनुसार सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा प्रदान गर्ने र उनीहरूलाई झन्झटमुक्त गराउने उद्देश्यले टोकनसहितको ‘पब्लिक अनाउन्समेन्ट सिस्टम’ लागू गर्न लागिएको जानकारी दिनुभयो । जसअनुसार प्रशासन कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले सबैभन्दा पहिला पहिलो चरणमा आफूले लिन चाहेको कुन सेवा हो त्यससम्बन्धी टोकन लिन्छ ।

टोकन लिएलगत्तै त्यो सेवा सञ्चालन गर्ने शाखामा त्यसको जानकारी पुग्छ अर्थात् उसको सो काम कार्यालयको प्रणालीमा प्रवेश गर्छ । त्यसको केही समयमा नै सो शाखाका कर्मचारीहरूले सो काम सम्पन्न हुन के कति समय लाग्छ त्यसको जानकारी सेवाग्राहीलाई दिन्छन् र केही समय धैर्य गरेर बस्न आग्रह गर्छन् । त्यस समयमा सेवाग्राहीलाई बस्नका लागि कार्यालयले राम्रो प्रबन्ध गर्नेछ जहाँ वाइफाइ, टेलिभिजन र पानीको समेत सुविधा दिइनेछ ।

त्यसपछि तेस्रो चरणमा सो प्रणालीमा ती सेवाग्राहीलाई त्यसअघि दिइएको समय सकिएपछि काम सम्पन्न भएको जानकारी दिइन्छ र आवश्यक सनाखत गर्न बोलाइन्छ । यी सबै काम सम्पन्न गराउन कार्यालयकै केही कर्मचारीलाई स्कर्टिङमा समेत खटाइने गरी योजना बनाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पौडेलले सेवा प्रवाह प्रणालीमा डिजिटल गभर्नेन्सको नवप्रवद्र्धनीय टुुल्सको रूपमा पब्लिक एनाउन्समेन्ट सिस्टमलाई अघि सारिएको जानकारी दिनुभयो ।

उहाँले यो सिस्टम अबको एक डेढ सातापछि नै सुरुवात हुने जानकारी दिंदै त्यसपछि सबै प्रकारका सेवाग्राहीले समयमा नै सेवा पाउने, सेवा प्रवाह गर्दा प्रविधिको उच्चतम प्रयोग हुने, कार्यालयको कुशल व्यवस्थापन हुने, भीड र लाइन लाग्नुपर्ने परम्पराको अन्त्य हुनुका साथै सबै कर्मचारीको तत्परतामा उच्च कोटिले सुधार हुने बताउनुभयो ।

जेन–जी पुस्ताको आन्दोलनले मागेको सुशासन र सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यअनुसार सो प्रणाली लागू गर्न लागिएको काठमाडौंका प्रजिअ पौडेलले बताउनुभयो । यस प्रकारको सेवा प्रवाह प्रदान गर्ने काठमाडौं प्रशासन देशभरका ७७ वटा प्रशासन कार्यालयमध्ये पहिलो हुनेछ ।

अन्य प्रशासन कार्यालयले पनि थाले सुशासन अभियान
गृह मन्त्रालयले सबै प्रशासन कार्यालयलाई जनकेन्द्रित र सुशासनमैत्री सेवा दिन दिएको निर्देशनअनुसार अन्य प्रशासन कार्यालयले पनि नवप्रर्वद्धनात्मक कार्यको थालनी गरेका छन् ।

जसअनुसार नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पनि सेवाग्राहीका समस्या छिटोभन्दा छिटो सम्बोधन गर्न हेल्प डेस्कमा प्रजिअ कार्यक्रमको सुरुवात गर्नुभएको छ ।

सेवाग्राहीको गुनासाहरू संकलन गरी हरेक कार्यालय प्रमुखको बैठकमा गुनासाहरू सुनी समस्याको समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिनुभयो ।