काठमाडौं ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइ प्रमुख पदमा कार्यरत बिनेश मुनंकर्मीले अनियमितता गरी २ करोड ५० लाख ३४ हजार ५ सय १७ रुपियाँ आम्दानी गरेको पाइएको छ ।
इकाइ प्रमुख मुनंकर्मीले सरकारी जागिरको २६ वर्षको अवधिमा विभिन्न जिम्मेवारीमा रहँदा पदको दुरुपयोग गरी सो सम्पत्ति जोडेका हुन् । मुनंकर्मी २०५४ साल फागुन १ गते सरकारी सेवामा प्रवेश गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्की जागिर प्रवेश गरेको दिनदेखि २०८० मंसिर १४ गतेसम्मको अवधिमा कमाएका सम्पत्तिको छानबिनको क्रममा गैरकानुनी आम्दानी गरी करोडौं रुपियाँ कमाएको पाइएको हो ।
मुनंकर्मीको सो अवधिमा कुल आय ३ करोड ७३ लाख ८१ हजार ४ सय ४४ रुपियाँ रहेको छ । त्यसमा पारिश्रमिक, तलब बचत, जग्गा बिक्री आय, ऋण, सापटी आय, सेयर बिक्री आय, लाभांश, मुनाफा आय, बिमा परिपक्क समर्पण आय, दैनिक भ्रमण भत्ता बचत, पुरस्कार रकम, कार्यालयबाट प्राप्त बोनस आय रकम, प्रोत्साहन भत्ता बचत, ब्याज कर कटाई हुन आउने ब्याज आय, आमा बाबुको सामाजिक सुरक्षा भत्ता बचत र बैना आय रहेको छ ।
सो अवधिमा मुनकंर्मीको व्यय ६ करोड २४ लाख १५ हजार ९ सय ६१ रुपियाँमात्र रहेको छ । व्ययमा निजले जग्गा खरिद, घर निर्माण, सेयर खरिद, सवारी साधन मोटरसाइकल खरिद, सुनका गरगहना खरिद, बिमा प्रिमियम भुक्तानी, अध्ययन शुल्क भुक्तानी, ऋण सापटी भुक्तानी, व्यवसाय÷कम्पनीको लगानी, मुद्दती खातामा रहेको रकम, साथमा रहेको नगद रकम, विभिन्न बैंक तथा सहकारी संस्थाको खाताहरूमा रहेको मौज्दात रकम, सवारी साधनको नवीकरण शुल्क भुक्तानी र अमेरिकन डलर ने.रु.मा रूपान्तरित रकमलाई आधारका रूपमा लिइएको छ ।
खर्च तथा लगानीबाट वैधानिक आय घटाउँदा २ करोड ५० लाख ३४ हजार ५ सय १७ रुपियाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताउनुभयो ।
उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको र तथ्य निजले पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको सहायक प्रवक्ता अधिकारीको भनाइ रहेको छ ।
‘निजले मनासिव कारणबिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको छ’ –उहाँले भन्नुभयो । मुनंकर्मीले अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा सम्पत्तिहरू खरिद गरेको अभियोगपत्रमा भनिएको छ ।
मुनंकर्मीको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको पनि आयोगले जनाएको छ । मुनकंर्मीको स्रोत नखुलेको २ करोड ५० लाख ३४ हजार ५ सय १७ रुपियाँ बराबर सम्पत्ति बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको सहायक अख्तियारका सहायक प्रवक्ता अधिकारीले बताउनुभयो ।
श्रीमती पूर्ण केशरी गोसाईंलाई प्रतिवादी बनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुने तथा गैरकानुनी रूपमा आर्जन गरेको उल्लिखित सम्पत्ति जफत गरी पाउन समेत मागदाबी लिइएको आयोगले जनाएको छ ।











प्रतिक्रिया