धोबीखोला किनारामा पनि चल्ने भयो डोजर

अवैध संरचना खाली गर्न तीनदिने म्याद

1.79k
Shares

काठमाडौं ।

धोबीखोला किनारामा बनेका अवैध संरचना तीन दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिका माइकिङ सुरु गरेको छ । काठमाडौं उपत्यका प्राधिकरणले अवैध संरचना खाली गर्न कामपा प्रहरी बललाई सहयोग गर्न आग्रहसहितको पत्र पठाएको एक घण्टाभित्रै कामपाले माइकिङ सुरु गरेको हो ।

प्राधिकरण काठमाडौं जिल्ला आयुक्त कार्यालयले मंगलवार पौने ३ बजे पत्र पठाएको थियो । लगत्तै हिजो दिउँसो साढे ३ बजेबाट माइकिङ सुरु गरेको हो । कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले पत्र पाएको एक घण्टाबाटै माइकिङ सुरु भएको जानकारी दिनुभयो । जिल्ला आयुक्त सुनिता श्रेष्ठद्वारा हस्ताक्षर गरेको पत्र कामपा पुग्नासाथ प्रहरीबलले तत्कालै प्रक्रिया अघि बढाएको थियो ।

आयुक्त कार्यालयले काठमाडौं महानगरपालिका २९ वडा कार्यालय र नापी कार्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा कात्तिक १२ देखि कामपा २९ वडाभित्रका सार्वजनिक जग्गामा अतिक्रमण गरी बनाइएका मापदण्डविपरीतका भौतिक संरचनाहरू सर्वेक्षण गरेको थियो ।

आयुक्त कार्यालयले सर्वेक्षण गरी यकिन गरिएका संरचना हटाउन सोमबार निर्णय गरेको थियो । सोही आधारमा जिल्ला आयुक्त कार्यालयले कामपालाई माइकिङ गर्न आग्रहसहित पत्र पठाएको थियो । काठमाडौं जिल्ला आयुक्त कार्यालयको पत्रमा ३ दिनभित्र अतिक्रमित जग्गामा बनाइएका संरचना खाली गर्न माइकिङ गर्न आग्रह गरेको थियो । जिल्ला आयुक्त कार्यालय काठमाडौंले सहरी विकास मन्त्रालय, २९ वडा कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई समेत पत्र पठाएको थियो ।
यसअघि आयुक्त कार्यालयले करिब एक महिनाअघि धोबीखोला करिडोर सर्वेक्षण गरी दायाँबायाँ मार्किङ सुरु गरेको थियो । सहरी विकासमन्त्री कुलमान घिसिङले खोला किनाराको अवैध संरचना खाली गर्न निर्देशन दिएको महिना दिनपछि सबै प्रक्रिया पूरा गरी अतिक्रमित जग्गा खाली नगरेमा डोजर चलाउने योजना अघि सारेको छ ।

पहिलो चरणमा काठमाडांै महानगरपालिका–२९ वडाभित्र पर्ने क्षेत्रका संरचना खाली गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकारणका विकास आयुक्त जानुका ढकालले काठमाडौं महानगरपालिका, नापी र मालपोत कार्यालयका प्रतिनिधिले नापजाँचपछि अवैध ठहरिएका संरचना खाली नगरे डोजर चलाउन लागेको जानकारी दिनुभयो ।

करिब दुई साताअघि नै डोजर चलाउने तयारी भए पनि नक्साङ्कन नसकिएकाले रोखिएको स्रोतले बताएको छ । डोजर चलाउनुअघि आइतबार जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा प्राधिकरण काठमाडौं जिल्ला आयुक्त कार्यालय, उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त ढकालसहितका पदाधिकारीको उपस्थिति थियो ।

स्रोतका अनुसार प्रजिअ पौडेलले खाली गर्न प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो । सोही आधारमा माइकिङ सुरु भएको हो । मापदण्डअनुसार धोबीखोला करिडोरका दायाँबायाँ ९–९ मिटर खाली गर्नुपर्ने हुन्छ । उक्त मापदण्डअनुसार बुटवल पावर कम्पनी र केही व्यावसायिक कम्पनीको कम्पाउन्डसहितका संरचना भत्कनेछन् ।

प्राधिकरणको तथ्याङ्कअनुसार धोबीखोला करिडोरमा १८६ रोपनी ६ आना र वागमतीमा २६४ रोपनी १ आना जग्गा अतिक्रमण भएको अनुमान छ ।
धोबीखोला कामपाको ४, ५, ७, ९, १०,११, २९ र ३० वडाको केही भाग पर्छ । पहिलो चरणमा २९ वडामा रहेका संरचना हटाउन लागेका हो । धोबीखोलाले बूढानीलकण्ठ नगरपालिकाको २, ८, ९, १० ११ र १३ वडाको केही क्षेत्र ओगटेको छ । प्राधिकरणले दायाँबायाँ ९–९ मिटर सीमाङ्कन कायम गरी नापजाँच गरेको थियो ।

धोबीखोला वागमती नदीको सहायक खोला हो ।धोबीखोला बूढानीलकण्ठको मुहान पोखरीबाट सुरु भई यूएन पार्कमा वागमती दोभानमा मिसिन्छ । यसअघि प्राधिकरण र कामपाले अतिक्रमित जग्गामा खाली गर्न कात्तिक १४ गते सातदिने सूचना जारी गरिएको थियो । म्याद सके पनि अटेर गरेका थिए ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ को दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफामा सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यसविपरीत भए गरेका कार्यहरू सात दिनभित्र हटाउनु सूचना जारी गरेको थियो ।