बंगलादेश दूतावासमा ‘विजय दिवस २०२५’ भव्य रूपमा मनाइयो


काठमाडौं।

बंगलादेशको राष्ट्रिय विजय दिवस २०२५ को अवसरमा काठमाडौंस्थित बंगलादेश दूतावासले आफ्नै परिसरमा भव्य तथा उत्साहपूर्ण कार्यक्रमको आयोजना गरेको छ। गरिमामय वातावरणमा सम्पन्न कार्यक्रममा विजय दिवस श्रद्धा, सम्मान र उल्लासका साथ मनाइएको थियो।

कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत महामहिम मोहम्मद गोलाम सरवर, सार्क सचिवालयका महासचिव, सार्क सचिवालयमा कार्यरत बंगलादेशी अधिकारीहरू, नेपालमा कार्यरत बंगलादेशी कूटनीतिज्ञ तथा प्रवासीहरू, बिमान बंगलादेश एयरलाइन्सको नेपाल कार्यालयका अधिकारीहरू, नेपालस्थित बंगलादेशी समुदायका सदस्यहरू तथा नेपालका विशिष्ट व्यक्तित्व र व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसै अवसरमा हाल काठमाडौं भ्रमणमा रहेको बंगलादेशी महिला फुटबल क्लब नस्रिन स्पोर्ट्स एकेडेमीका खेलाडी तथा पदाधिकारीहरू पनि कार्यक्रममा सहभागी भई विजय दिवस मनाएका थिए।

कार्यक्रम बिहान १० बजे दूतावास परिसरमा राष्ट्रिय झण्डोत्तोलन तथा राष्ट्रिय गानसँगै सुरु भएको थियो। त्यसपछि बंगलादेशको स्वतन्त्रता संग्राममा जीवन आहुति दिने शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

विजय दिवसका अवसरमा बंगलादेशको इतिहास, स्वतन्त्रता आन्दोलन र राष्ट्रिय गौरव झल्किने विविध सांस्कृतिक तथा औपचारिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। कार्यक्रममा उपस्थित वक्ताहरूले बंगलादेश–नेपालबीचको कूटनीतिक सम्बन्ध सुदृढ हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा आपसी मित्रता, सहयोग र साझेदारी अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।