टाईम बम विस्फोटका फरार अभियुक्त १३ वर्षपछि काठमाडौंबाट पक्राउ


काठमाडौँ।

काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाईम बम विस्फोट गराई तीन जनाको ज्यान जाने घटनामा संलग्न फरार अभियुक्त राजकुमार तामाङ लामालाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार अभियुक्त तामाङलाई मंगलबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपनस्थित निजकै घरबाट पक्राउ गरिएको हो ।

२०६८ साल फागुन १५ गते भएको उक्त विस्फोटमा मानबहादुर तामाङसहित तीन जनाको मृत्यु हुनुका साथै सोम तामाङ गम्भीर घाइते भएका थिए । घटनापछि श्यामबहादुर तामाङसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र राजकुमार तामाङ लामा प्रतिवादी बनाई कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको थियो ।

राजकुमार तामाङ लामा ‘कुमार’, ‘विश्वक्रान्ति’ र ‘देवराज लामा’ उपनामले पनि चिनिने व्यक्ति हुन् । उनी २०६९ साल असार १२ गते पाँचथरको साविक लुङरूपा–२ भुसपाते क्षेत्रबाट विस्फोटक पदार्थसहित पक्राउ परेका थिए । त्यसपछि अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं हुँदै केन्द्रीय कारागार नख्खु पठाइएका थिए ।

तर, २०७६ साल फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा आममाफी पाई छुटेपछि उनी पुनः पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेका थिए ।

पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको प्रहरीले जनाएको छ ।