ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट प्रकरणः सञ्जीव कुमार चौधरी र उमाकान्त चौधरी पक्राउ


सप्तरी ।

ऋण असुलीका क्रममा ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट तथा सार्वजनिक रूपमा अपमान गरिएको घटनामा संलग्न रहेको आरोपमा सञ्जीव कुमार चौधरी र उमाकान्त चौधरी पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरू सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रा.लि. सँग सम्बन्धित व्यक्ति हुन्। बैंकका कर्मचारीहरू ऋण असुलीसम्बन्धी छलफलका लागि पुगेका बेला आक्रमण र अपमानमा उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरिएको हो।

ज्योति विकास बैंकका डेपुटी म्यानेजर सुमित श्रेष्ठ र रुपनी शाखाका कर्मचारी सबिन श्रेष्ठ माथि लाठी प्रहार गरिएको, कालो मोसो दलिएको तथा जुत्ताको माला लगाएर सार्वजनिक रूपमा अपमान गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले देशव्यापी आक्रोश उत्पन्न गरेको थियो।

बैंकका अनुसार उक्त कम्पनीले लिएको करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको ऋण लामो समयदेखि नतिरेपछि धितोमा राखिएको जग्गा लिलामीका लागि सूचना प्रकाशित गरिएको थियो। यही विषयलाई लिएर विवाद चर्किँदै हिंसात्मक घटनामा परिणत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि बैंकले अपहरण, कुटपिट तथा सार्वजनिक अपमान सम्बन्धी कसूरमा सात जनाविरुद्ध उजुरी दर्ता गराएको थियो। तीमध्ये दुई जनालाई पक्राउ गरिएको र बाँकीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न सबैमाथि कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ। यसैबीच बैंकिङ क्षेत्रका कर्मचारी संगठनहरूले दोषीलाई उदाहरणीय सजाय दिन र ऋण असुलीका क्रममा कर्मचारीको सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।