काठमाडौं ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले चीनमा आयोजना हुन लागेको नु जियाङ वाइल्डवाटर क्यानोइङ एसियन च्याम्पियनसिपमा सहभागी हुने नेपाल क्यानोइ तथा कायक टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको छ । एनओसीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठ र महासचिव तथा नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेका हुन ।
एनओसी अध्यक्ष श्रेष्ठले टोलीलाई बिदाइ गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आत्मविश्वास, अनुशासन र उच्च खेलभावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे । उनले यस प्रतियोगितामा नेपालको सहभागिताले देशमा क्यानोइङ र कायकिङ खेलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीको तयारीप्रति सन्तुष्ट रहेको बताए । बिदाइ कार्यक्रममा नेपाल राफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदिप राज गौतमको पनि उपस्थिति रहेको थियो ।
प्रतियोगिता यहि डिसेम्बर १६ देखि २२ तारिखसम्म चीनको युनान प्रान्तअन्तर्गत नु जियाङ स्वायत्त क्षेत्रमा आयोजना हुँदैछ । जसको आयोजना चिनियाँ क्यानोइ संघले गरेको हो । यस च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीमा जम्मा चार सदस्य रहेका छन् । टोलीमा दुई जना पदाधिकारी र दुई जना खेलाडी समावेश छन् । पदाधिकारीहरूमा सूर्य प्रसाद जोशी र महेश थापा तथा खेलाडीहरूमा कृष्ण खड्का र रञ्जन कडेल रहेका छन् ।











प्रतिक्रिया