काठमाडौं
नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि डा. बद्री रिजाल र डा. मंगल रावलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।
प्रजातन्त्रवादी चिकित्सक समूहको तर्फबाट डा. बद्री रिजालको नेतृत्वमा निर्वाचनमा जाने निर्णय भएको छ ।हाल संघका वरिष्ठ उपाध्यक्ष रहेका डा. रिजाल अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका छन् । उनी हाल ट्रमा सेन्टरमा निर्देशक पदको प्रमुख जिम्मेवारी सम्हाल्दै आएका छन् ।
यसअघि नै प्रगतिशील समूहबाट डा. मंगल रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
यस्तै, हाल संघका महासचिव रहेका डा. सञ्जिव तिवारी वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने निश्चित भएको छ। डा. रिजालले आफ्नो नेतृत्वमा संघको आगामी निर्वाचनमा चुनावी मैदानमा जाने जानकारी दिए।
“मेरो नेतृत्वमा संघको आगामी निर्वाचनमा जाने निर्णय भएको छ। अहिलेलाई अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदका उम्मेदवार मात्र टुंगो लागेको छ,” डा. रिजालले भने। अन्य पदका उम्मेदवारका विषयमा छलफल जारी रहेको उनको भनाइ छ।
यसअघि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका डा. विश्वराज दवाडीले महासचिव पदमा उम्मेदवारी दिने निश्चित भएको छ। डा. दवाडीले डा. रिजाल र डा. तिवारीको टिमबाट महासचिवमा उम्मेदवारी दिने निर्णय गरेका हुन्।
उता, प्रगतिशील समूहबाट अध्यक्ष पदका उम्मेदवार डा. मंगल रावलसँगै महासचिव पदमा डा. पदम नेपालीले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै, स्वतन्त्र समूहबाट डा. अमृत भुसालले पनि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल चिकित्सक संघको निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहबीच प्रतिस्पर्धा चर्किँदै गएको छ।











प्रतिक्रिया