बिलबिजक र भन्सार प्रज्ञापन पत्रविनाको सामानसहित एकजना प्रहरीको नियन्त्रणमा


सिन्धुपाल्चोक।

बिलबिजक तथा भन्सार प्रज्ञापन पत्र नभएको चिनियाँ किराना सामानसहित सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लामोसाँघुबाट खटिएको सुरक्षा टोलीले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–४ स्थित बाह्रबिसे बजारबाट बाह्रविसे नगरपालिका–६ निवासी शिवलाल तामाङलाई नियन्त्रणमा सोमबार लिएको हो ।

तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर गाडी जाँच गर्ने क्रममा गाडीमा लोड गरिएको सामानको बिलबिजक तथा भन्सार प्रज्ञापन पत्र फेला नपरेपछि चालक तामाङलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सामानमा स्टेशनरी, खेलकुद सामग्री तथा विभिन्न किसिमका किराना सामान रहेका छन् । बरामद सामानको अनुमानित मूल्य ७ लाख २२ हजार १० रुपैयाँ र गाडीको मूल्य १५ लाख रुपैयाँ गरी जम्मा २२ लाख २२ हजार १० रुपैयाँ बराबर रहेको छ ।

नियन्त्रणमा लिइएका तामाङलाई बरामद सामान र गाडीसहित आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।