१५ वर्षे अन्तर्राष्ट्रिय साझेदारी: बन्दीपुर केवलकारको होटेल अब ‘लेमन ट्री’ ब्रान्डमा, पर्यटन प्रवर्द्धनतर्फ अर्को फड्को


काठमाडौं ।

बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड र भारतको अग्रणी अन्तर्राष्ट्रिय होटेल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच बन्दीपुरस्थित होटेल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । यससँगै बन्दीपुरको होटेल अब लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालनमा आउने भएको हो ।

सम्झौतामा हस्ताक्षर समारोह भारतको नयाँ दिल्लीस्थित लेमन ट्री होटल्सको केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका तर्फबाट चिफ अथराइज्ड कन्सल्टेन्ट विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विलास पवारले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताअनुसार होटेलको समग्र व्यवस्थापन, ब्राण्डिङ, अन्तर्राष्ट्रिय बजारीकरण, सेवा गुणस्तर नियन्त्रण, मानव संशोधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच लेमन ट्री होटल्समार्फत सुनिश्चित हुनेछ । यसले बन्दीपुरलाई दक्षिण एसियामै चिनिने अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यका रूपमा थप स्थापित गर्ने अपेक्षा गरिएको छ ।

लेमन ट्रीको अन्तर्राष्ट्रिय नेटवर्क, बन्दीपुरको नयाँ पहिचान

१०० भन्दा बढी होटेल र ९ हजारभन्दा बढी कोठासहित भारत, मध्यपूर्व र एसियाका विभिन्न मुलुकमा उपस्थिति रहेको लेमन ट्री होटल्सको वैश्विक नेटवर्क, कर्पोरेट ट्राभल सेग्मेन्ट र अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँगको सहकार्यले बन्दीपुरको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ । विशेषगरी उच्च खर्च गर्ने विदेशी पर्यटक, सम्मेलन–पर्यटन (MICE) र लामो बसाइका पाहुनालाई लक्षित गर्दै बन्दीपुरको पर्यटन दायरा विस्तार हुने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार यो सहकार्य बन्दीपुर केवलकार एण्ड टूरिजमका लागि रणनीतिक माइलस्टोन हो । अन्तर्राष्ट्रिय ब्रान्डसँगको साझेदारीले होटेलको अकुपेन्सी दर वृद्धि, विदेशी मुद्रा आर्जन, राजस्व स्थायित्व तथा कम्पनीको ब्रान्ड मूल्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ । यसले लगानीकर्ताको विश्वास मजबुत बनाउने र बजारमा कम्पनीको विश्वसनीयता थप सुदृढ गर्ने बताइएको छ ।

बन्दीपुर केवलकार : पर्यटन विकासको यात्राबाट अन्तर्राष्ट्रिय साझेदारीसम्म

बन्दीपुर केवलकार परियोजना बन्दीपुरलाई सडक यातायातको सीमितताबाट मुक्त गर्दै सहज, सुरक्षित र आकर्षक पर्यटक पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित अघि बढाइएको परियोजना हो । ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण बन्दीपुरमा पर्यटकको आवागमन बढाउन केवलकारलाई दीर्घकालीन पर्यटन पूर्वाधारका रूपमा विकास गरिएको थियो ।

सञ्चालनमा आएपछि केवलकारले बन्दीपुर पुग्ने समय घटाएको मात्र होइन, आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रूपमा वृद्धि गर्न योगदान पुर्‍याएको छ । केवलकारसँगै होटेल, रेस्टुरेन्ट, स्थानीय उत्पादन र सेवा क्षेत्रमा रोजगारी र आम्दानीका अवसरहरू विस्तार भएका छन् । यस परियोजनालाई निजी क्षेत्रको लगानीमा पर्यटन पूर्वाधार विकासको सफल उदाहरणका रूपमा पनि हेरिँदै आएको छ ।

स्थानीय अर्थतन्त्र र रोजगारीमा प्रभाव

सम्झौतापछि बन्दीपुर क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने, स्थानीय युवाहरूका लागि रोजगारीका नयाँ अवसर सिर्जना हुने तथा सेवा गुणस्तर र पर्यटन पूर्वाधारमा थप सुधार आउने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय मानकअनुसार तालिम, व्यवस्थापन र सेवा प्रवाह सुरु भएपछि स्थानीय जनशक्तिको सीप विकासमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

कम्पनीका अनुसार बन्दीपुरस्थित होटेल छिट्टै लेमन ट्री होटल्सको ब्रान्ड नाम, डिजाइन र सेवा मापदण्डअनुसार औपचारिक रूपमा सञ्चालनमा आउनेछ । यस सहकार्यलाई बन्दीपुरलाई ‘बुटिक हिल टुरिजम डेस्टिनेसन’का रूपमा अन्तर्राष्ट्रिय नक्सामा स्थापित गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।