काठमाडौं ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार दुबईको दि सेभेन्स रंगशालामा भएको खेलमा नेपाल बंंगलादेशसँग ७ विकेटले पराजित भएको हो । पहिलो खेलमा नेपाल श्रीलंकासँग हारेको थियो । योसँगैं नेपाल सेमिफाइनलको होडबाट पनि बाहिरियो ।
नेपालले १ सय ३१ रनको सामान्य लक्ष्य दिएको थियो । जुन लक्ष्यलाई बंगलादेशले २४.५ ओभरमा ३ विकेटको नोक्सानीमा भेटाएको थियो । टोलीका लागि ओपनर जावेद अब्रारले ७० रन बनाए । त्यस्तै कलाम सिद्दिकीले ३४ रनको योगदान गरे । नेपालका लागि अभिशेष तिवारी र युवराज खत्रीले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । टोलीका लागि अभिशेष तिवारीले सर्वाधिक ३० रन जोडे । त्यस्तै आशिष लुहारले २३ रनको योगदान गरे ।
नेपाललाई सस्तैमा समेट्न मोहम्मद सोबुजले तीन विकेट लिए । त्यस्तै साद इस्लाम, शहरियार अहमद र अजिजुल हाकिमले समान दुई विकेट लिए । शहरियार अल–अमिनले एक विकेट लिएका थिए ।
समूह ‘बी’ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले बुधबार अफगानिस्तानसँग खेल्नेछ । त्यही दिन बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धां गर्नेछ । बंगलादेश र श्रीलंकाले २ खेलमै जित हासिल गरेका छन् । यस समूहमा नेपाल र अफगानिस्तानले जित हासिल गर्न नसकेकाले बंगलादेश र श्रीलंका दुबै टोलीले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।
अर्को समूहमा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन् । जसमा, भारतले दुई खेल जितेको छ भने पाकिस्तान र यूएईले एक खेल जितेका छन् । मलेसिया भने दुई खेलमै पराजित भएको छ ।











प्रतिक्रिया